
काठमाडौं । भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ । व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधारलगायत विषय अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।
समितिमा मन्त्रालयका उपसचिव निर्मला गुरुङ, वरिष्ठ डिभिजनल इन्जिनियर शङ्करसिंह धामी, सल्लाहकार आरपी महतो तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका प्रतिनिधि सदस्य छन् । त्यस्तै यातायात क्षेत्रका नीति, ऐन, नियम तथा मापदण्ड समयानुकूल सुधार गर्न अर्को समिति गठन गरिएको छ ।
मन्त्रालयका सहसचिव जङ्गबहादुर डाँगीको संयोजकत्वमा गठित समितिले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण तथा यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक कानुनी र नीतिगत सुधारबारे अध्ययन गर्नेछ । यो समितिले ४५ दिनभित्र रायसहितको प्रतिवेदन बुझाउनेछ । दुवै समितिको प्रतिवेदनका आधारमा प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन तथा आवश्यक नीति र कानुनी सुधार अघि बढाइने मन्त्रालयले जनाएको छ ।

























