आगलागीमा ३५ जनाको मृत्यु

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार ११:१३

एजेन्सी। फिलिपिन्समा फेरीमा भएको भीषण आगलागीमा मृत्यु भएका यात्रुका शव शनिबार बिहान पलावानको पर्यटकीय सहर कोरोननजिकैको बन्दरगाहमा ल्याइएको छ। अधिकारीहरूले हालसम्म ३५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने अझै केही शव फेला पर्न सक्ने बताएका छन्।

बुधबार साँझ ‘एमभी जुन एस्टर’ फेरीमा आगलागी भएपछि जहाज नियन्त्रणबाहिर गएको थियो। आगलागीपछि जहाज पर्यटकीय क्षेत्र कोरोननजिकै पुगेर अड्किएको थियो। अधिकारीहरूका अनुसार आगो कार्गो होल्डबाट सुरु भएको र केही सेकेन्डमै जहाजभर फैलिएको थियो।

Advertisement

समाचार संस्था एएफपीका अनुसार शनिबार बिहान ३० वटा शव बन्दरगाहमा ल्याइएको थियो। शव व्यवस्थापनका लागि बन्दरगाहमा टेन्टसमेत राखिएको थियो। फिलिपिन्स कोस्ट गार्डकी प्रवक्ता नोएमी कयाबयाबले शव प्रहरीका फरेन्सिक अनुसन्धानकर्तालाई बुझाएर पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइन्।

उनका अनुसार उद्धार गरिएका अधिकांश शव जहाजको इकोनोमी कक्षमा फेला परेका थिए। जहाजमा अझै कति शव बाँकी छन् भन्नेबारे खोजी पूरा भएपछि जानकारी दिइने अधिकारीहरूले बताएका छन्। कोस्ट गार्डका अनुसार घटनापछि हालसम्म ३० यात्रु र १३ चालक दलका सदस्य गरी ४३ जनाको उद्धार गरिएको छ। अझै ५४ जना बेपत्ता छन्। आगलागीपछि सुरुमा पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको थियो।

कोस्ट गार्डले सार्वजनिक गरेका तस्बिरमा हाज्माट सूट लगाएका उद्धारकर्मीहरूले शव राखिएका झोला सानो पानीजहाजमा राखिरहेको देखिन्छ। प्रवक्ता कयाबयाबका अनुसार आगो अत्यन्त तीव्र गतिमा फैलिएकाले धेरै यात्रुले लाइफ ज्याकेटसमेत लगाउने समय पाएका थिएनन्। मृतक तथा बेपत्ताको खोजीका लागि आफन्तहरू कोरोन पुगेका छन्। ४० वर्षीय भाइ रमेल गोन्जागाको खोजीमा मायर काबिलान पनि कोरोन पुगेकी छन्। गोन्जागा व्यापारिक कामका लागि आफ्ना भिनाजुसँग मनिलाबाट उक्त फेरीमा यात्रा गरेका थिए।

काबिलानका अनुसार गोन्जागाकी श्रीमतीले एक महिनाअघि मात्रै छोरी जन्माएकी थिइन्। छोरी जन्मिएपछि उनी निकै खुसी रहेको उनले बताइन्। तर शनिबारसम्म पनि गोन्जागाको अवस्था अज्ञात रहेपछि आफूले आशा गुमाउन थालेको काबिलानले बताइन्। बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन सयौँ मानिस कोरोन पुगेका छन्। स्थानीय मेयरको फेसबुक पेजमा समेत आफन्त, साथीभाइ तथा एउटा कुकुरसमेत हराएको भन्दै खोजीका लागि मानिसहरूले जानकारी पोस्ट गरिरहेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×