
दाङ । थारू समुदायको मौलिक संस्कृति, आस्था र पारिवारिक सम्बन्धसँग जोडिएको बर्का अट्वारी पर्व आज (आइतबार) विभिन्न विधि र परम्परा अनुसार मनाइँदै छ ।
लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीसहित थारू समुदायको बाक्लो बसोवास रहेका जिल्लामा पर्वको रौनक देखिएको छ । बर्का अट्वारीमा थारू समुदायका पुरुषहरू निराहार व्रत बसेर सूर्यको पूजा गर्ने चलन छ । प्रकृतिपूजक थारू समुदायले सूर्यलाई उज्यालो र ऊर्जाको प्रतीकका रूपमा मान्दै विशेष पूजाआजा गर्ने परम्परा रहिआएको छ ।
आइतबारका दिन पर्ने भएकाले यो पर्वलाई अट्वारी भनिएको मान्यता छ । रवि अर्थात् सूर्यसँग जोडिएको आइतबार र सूर्यको उपासनाबीचको सम्बन्धले पनि यस पर्वलाई विशेष बनाएको मानिन्छ ।
अट्वारी पर्व भीमको वीरता, साहस, न्याय र थारू समुदायको संरक्षणसँग जोडिएको लोकविश्वासमा आधारित रहेको पाइन्छ । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि यो पर्व मनाउने गरिन्छ । कुशे औंसीपछिको पहिलो आइतबार अट्वारी मनाउने प्रचलन छ ।
पर्वको अर्को महत्वपूर्ण पक्ष हो– अग्रासन । व्रतपछि आफूले ग्रहण गर्ने खानाको एक हिस्सा दिदीबहिनीका लागि छुट्याएर कोसेलीका रूपमा पुर्याउने यो परम्पराले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिन्छ । अग्रासनले आपसी सद्भाव, सहयोग र भाइचाराको भावनासमेत पुस्तान्तरण गर्दै आएको छ ।
बर्का अट्वारी थारू समुदायका लागि धार्मिक अनुष्ठानमा मात्र सीमित पर्व होइन । यसले समुदायको मौलिक पहिचान, सामाजिक एकता, पारिवारिक आत्मीयता र पुस्तौंदेखिको सांस्कृतिक परम्परालाई जोड्ने काम गर्दै आएको छ । बदलिँदो सामाजिक परिवेशमा यस्ता मौलिक पर्व र परम्पराको संरक्षण तथा पुस्तान्तरणलाई समुदाय र राज्य दुवैको साझा दायित्वका रूपमा लिइएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्परा संरक्षणमा बर्का अट्वारी पर्वले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बर्का अट्वारी थारू समुदायको संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गरे ।
अग्रासनको परम्पराले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी सद्भाव र भाइचारालाई बलियो बनाउने उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले बदलिँदो सामाजिक परिवेशमा मौलिक पर्व र परम्पराको संरक्षण तथा पुस्तान्तरण सबैको साझा दायित्व भएको बताएका छन् । लुम्बिनी प्रदेश सरकार प्रदेशको बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै सबै जातजाति, भाषा, धर्म र समुदायका मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
बर्का अट्वारीजस्ता मौलिक पर्वले थारू समुदायको संस्कृति र पहिचानलाई जीवन्त राख्नुका साथै समग्र समाजमा प्रेम, सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मुख्यमन्त्री आचार्यले व्यक्त गरेका छन् । सरोकारवालाहरूले पनि विभिन्न जातजाति र समुदायले मनाउँदै आएका मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन राज्यको दायित्व भएको बताएका छन् । यस्ता मौलिक कला, संस्कृति र पर्वको संरक्षणसँगै प्रवर्द्धन गर्न सके लुम्बिनी प्रदेशको पर्यटन विकासमा समेत टेवा पुग्ने उनीहरूको भनाइ छ ।



















