
धुलिखेल । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिन शीर्ष नेताहरू काभ्रेको बल्थलीमा भेला भएका छन् । प्रतिवेदनका विषयमा पार्टीभित्र मतभिन्नता देखिएपछि कार्यदलले आवासीय बैठकमार्फत विवाद टुंग्याउने तयारी गरेको हो ।
शनिबार साँझ काभ्रे पुगेका एमालेका केन्द्रीय नेताहरू पनौती नगरपालिका–११, बल्थलीस्थित एक होटलमा बसेका छन् । सुरुमा धुलिखेलमा बैठक राख्ने तयारी भए पनि अन्तिम समयमा स्थान परिवर्तन गरी बल्थलीमा आवासीय बैठक गर्ने निर्णय गरिएको हो ।
कार्यदलका सदस्यसमेत रहेका केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जुका अनुसार बैठकस्थलको व्यवस्थापन केन्द्रीय कार्यालयबाटै गरिएको हो । बैठकस्थल र होटलको नाम भने गोप्य राखिएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको प्रदर्शन तथा त्यसपछिको राजनीतिक अवस्थाको समीक्षा गर्दै एमालेले पार्टीको संरचना र कार्यशैलीमा पुनर्विचार गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो ।
कार्यदलले विभिन्न तह र निकायबाट सुझाव संकलन गरी त्यसका आधारमा प्रतिवेदन तयार गरेको हो । जेठ ३० गतेदेखि सुरु भएको सुझाव संकलन असार २३ गते सकिएपछि महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरेका थिए । असार २५ गते बसेको कार्यदल बैठकले प्रतिवेदन लेखनको जिम्मेवारी उपाध्यक्ष बादल र महासचिव पोखरेललाई दिएको थियो ।
तर, प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वसम्बन्धी विषयसमेत समेटिएपछि विवाद उत्पन्न भएको हो । ओली पक्षबाट प्रतिवेदन पुनर्लेखनको प्रयास भएपछि कार्यदलभित्र दुईवटा प्रतिवेदनको अवस्था बनेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रयास गरिएको थियो । महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनसँगै अर्को प्रतिवेदनसमेत प्रस्तुत भएपछि बैठक निष्कर्षमा पुग्न सकेन । त्यसपछि शनिबार पुनः छलफल गर्ने गरी बैठक स्थगित गरिएको थियो ।
शनिबारको छलफलबाट पनि सहमति जुट्न नसकेपछि नेताहरूलाई आवासीय बैठकका लागि बल्थली लगिएको एमालेका एक नेताले बताएका छन् । अब कार्यदलले प्रतिवेदनका विवादित विषयमा सहमति जुटाएर अन्तिम रूप दिने प्रयास गर्नेछ ।
कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाललगायत ९ वटै प्रदेशका इन्चार्ज सदस्य छन् ।
एमालेले निर्वाचनपछि पार्टीका विभिन्न संरचना र जनसंगठनबाट सुझावसमेत संकलन गरेको थियो । सात भौगोलिक प्रदेशसँगै राजधानी, सम्पर्क मञ्च, केन्द्रीय आयोग, विभाग, सल्लाहकार परिषद्, प्रवास तथा जनसंगठनबाट सुझाव लिइएको थियो ।
बल्थलीमा आइतबार दिनभर छलफल गर्ने तयारी छ । सहमति जुट्न नसके बैठक लम्ब्याएर आइतबार रातिसमेत त्यहीँ बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा नेताहरू छन् ।

























