बाढीपहिरोले विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ०९:०८
फाइल फाेटाे

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ । कोशी प्रदेशअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास पहिरोका कारण फिदिम–फालेलुङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

बागमती प्रदेशमा सबैभन्दा धेरै सडक प्रभावित छन् । काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ । १० टनसम्मका मालवाहक सवारी राति सञ्चालन गर्न दिने र मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारी तोकिएको समयमा चलाउन दिने व्यवस्था गरिएको छ ।

Advertisement

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । नुवाकोटका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग र पासाङल्हामु सडकखण्डसमेत प्रभावित भएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

धादिङमा पृथ्वी राजमार्गका विभिन्न खण्ड पहिरोका कारण प्रभावित छन् । बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध छ भने सोही गाउँपालिकाका अन्य स्थानमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सडक मर्मतका कारण सवारीको चाप हेरेर एकतर्फी यातायात सञ्चालन भइरहेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरोका कारण अरनिको राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ धारापानीस्थित चामे–बेँसीसहर सडकखण्डमा निर्माण कार्यका कारण यातायात प्रभावित भएको छ । सडक विभागका अनुसार उक्त खण्डमा साना सवारी सञ्चालन बन्द गरिएको छ भने ठूला सवारीका लागि समेत तोकिएको समयअनुसार सडक बन्द रहने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×