
विराटनगर । २०८३ सालको संविधान दिवस भव्य रूपमा मनाउन कोशी प्रदेश सरकारले तयारी तीव्र पारेको छ । प्रदेश सरकारले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय संविधान दिवस, २०८३ मूल समारोह समिति गठन भइसकेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार करिब १० हजार जनाको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ ।
असोज ३ गते संविधान दिवसका दिन विराटनगरस्थित सहिद रंगशालामा मूल समारोह आयोजना हुनेछ । बिहान ६:३० बजे आदर्श माध्यमिक विद्यालय, विराटनगर अगाडि भेला भएर विभिन्न जातजाति, समुदाय र भेषभूषासहितको झाँकी निकाल्दै प्रभातफेरी गरिनेछ ।
सहिद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह हुनेछ । समारोहमा खेलकुद प्रदर्शन, प्रसिद्ध कलाकारबाट राष्ट्रिय गीत प्रस्तुति तथा पुरस्कार वितरणलगायत कार्यक्रम हुनेछन् ।
असोज २ गते प्रदेश खेलकुद बोर्डको आयोजनामा म्याराथन दौड र ब्याडमिन्टन प्रतियोगिता हुनेछ । सामाजिक विकास मन्त्रालयले जिल्लाबाट छनोट भएर आएका प्रतियोगीबीच ‘नेपालको संविधान र संघीयता कार्यान्वयन’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नेछ ।
यस्तै, ‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका’ विषयमा खुला निबन्ध प्रतियोगिता, अन्तरसंवाद तथा भिडियो प्रतियोगिता पनि आयोजना गरिनेछ ।
असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षरोपण कार्यक्रम गरिने भएको छ । कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको छ ।

























