
काठमाडौं । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा फसेका १२ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएकामा ११ महिला र एक पुरुष छन् ।
कपिलवस्तु नगरपालिका–६ बर्मेलीबाट उनीहरू शनिबार घाँस काट्न नदी पार गरेर वनतर्फ गएका थिए । ठूलो वर्षापछि नदीमा एक्कासि बाढी आएपछि उनीहरू फसेका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।
यसैबीच, वाणगंगा नदीमा पौडी खेल्ने क्रममा हराएका १० वर्षीय बालकको खोजी भइरहेको छ । बाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा पौडी खेल्न नदीमा गएका थिए। रिदमलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मनसुन कायमै रहेकाले पहाडी क्षेत्रमा परेको पानीका कारण तराईका नदी तथा खोलामा एक्कासि पानीको सतह बढ्न सक्ने भन्दै प्रहरीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

























