बेइजिङ गए प्रधानसेनापति

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार १२:४६

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणमा गएका छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा सिग्देल आइतबार चीन प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट बिहान ११ बजे छेन्दुका लागि प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए । भ्रमणअघि जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सिग्देललाई सम्मान गारतसमेत अर्पण गरेको थियो ।

Advertisement

सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् । प्रधानसेनापति नियुक्त भएपछि सिग्देलको यो पहिलो चीन भ्रमण हो ।

यसअघि गत वर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा आयोजना हुने सैनिक एकाइका कार्यक्रममा सहभागी हुन उनको चीन भ्रमण तय भएको थियो । तर, त्यसबेला भएको जेनजी आन्दोलनका कारण भ्रमण स्थगित हुन पुग्यो ।

यसपटकको भ्रमणका क्रममा नेपाल–चीन द्विपक्षीय सैनिक सम्बन्ध र सुरक्षा सहकार्यका विषयमा छलफल हुने बताइएको छ । करिब एक साता चीनमा रहने सिग्देलले बेइजिङमा आयोजना हुने The 13th Beijing Xiangshan Forum मा समेत सहभागिता जनाउने कार्यक्रम छ ।

नेपाली सेनाका अनुसार सिग्देल असोज ३ गतेसम्म चीनमा रहनेछन् । नेपाल र चीनबीच नियमित रूपमा ‘सगरमाथा फ्रेन्डसीप’ नामक संयुक्त सैन्य अभ्यास हुँदै आएको छ । यस वर्षको सैन्य अभ्यासको तयारी भइरहेका बेला प्रधानसेनापतिको चीन भ्रमणलाई द्विपक्षीय सैनिक सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

प्रधानसेनापति सिग्देलले चीनबाट नेशनल डिफेन्स कोर्ससमेत पूरा गरेका छन् । यद्यपि, उनको यसपटकको चीन भ्रमणका बारेमा नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×