
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गत वर्षको भदौ २७ लाई मुलुकले कठिन राजनीतिक संकटबाट निकास पाएको दिनका रूपमा स्मरण गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भदौ २३ को घटनापछि देश गम्भीर अन्योलमा परेको र तत्कालीन राजनीतिक नेतृत्वप्रतिको जनविश्वास कमजोर बनेको बताएका छन् । त्यसपछि नयाँ नेतृत्व चयन गर्ने विषय झनै चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
गुरुङका अनुसार त्यसबेला मुलुक लामो समयसम्म शक्ति रिक्तताको अवस्थामा रहन नहुने दबाब थियो । यही परिस्थितिमा भदौ २७ मा आफूले पनि देशलाई निकास दिने प्रक्रियामा जिम्मेवारी निर्वाह गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् ।
राष्ट्रपति कार्यालय पुग्दाको अवस्थासमेत स्मरण गर्दै गुरुङले आफू रगतले लतपतिएको ज्याकेटमा रहेको र लामो समयसम्म पानी तथा खाना नखाई निर्णयको प्रतीक्षामा बसेको बताएका छन् । करिब ९ घण्टाको प्रतीक्षाका क्रममा अन्योल भए पनि देशलाई खाली हात फर्कन नदिने अडानमा आफू रहेको उनले बताएका छन् ।
त्यसपछि सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले त्यस क्षण आफूले ठूलो जिम्मेवारीबाट केही हलुका भएको अनुभूति गरेको उल्लेख गरेका छन् । आफ्नो भागमा आएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रयास गरेको भन्दै गुरुङले संकटको समयमा देशले आफूलाई दिएको विश्वासप्रति सधैँ कृतज्ञ रहने बताएका छन् ।

























