
काठमाडौं । मनसुन सक्रिय रहेकाले देशका विभिन्न भू–भागमा वर्षाको क्रम जारी रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याउँदै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशका अधिकांश भू–भागमा बदलीको अवस्था छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यतया बदली रहने तथा हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा कोशीसहित मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ । यस क्रममा कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्र एवं गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
रातको समयमा पनि वर्षाको सम्भावना कायमै रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहतका काम प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्लो सूचना हेर्नसमेत अनुरोध गरिएको छ ।

























