
पाँचथर । पहिरोका कारण चार दिनदेखि फिदिम–फालौट सडक अवरुद्ध हुँदा यात्रु तथा ढुवानीका साधन अलपत्र परेका छन्। पाँचथरको फिदिम नगरपालिका–१० र फालेलुङ गाउँपालिकाको सीमावर्ती आकाशे भञ्ज्याङ नजिक बुधबार पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि फिदिमबाट नाङ्गीन, सिदिन, प्राङबुङ हुँदै भारतसँगको सीमावर्ती सन्दकपुर–चारराते क्षेत्रसम्म आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्। नियमित यातायातका साधनसँगै दैनिक उपभोग्य सामग्री तथा अन्य सामान ढुवानी गर्ने साधनसमेत बीच बाटोमै रोकिएका छन्।
सडक खुलाउन स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको भए पनि माथिबाट निरन्तर माटो र ढुंगा खसिरहेकाले समस्या भएको फालेलुङ–७ का वडाध्यक्ष टेकबहादुर केरुङले बताए।
पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउन प्रयोग गरिएको उपकरणसमेत जोखिममा रहेको स्थानीयले बताएका छन्। पहिरो पन्छाउने काम जारी रहे पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ। फिदिमबाट फालेलुङका विभिन्न बस्ती हुँदै भारतसँगको सीमावर्ती क्षेत्रसम्म पुग्ने प्रमुख मार्गका रूपमा रहेको यो सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दासँगै अत्यावश्यक कामका लागि यात्रा गर्नेहरू पनि प्रभावित भएका छन्।
गाउँपालिकाले पहिरो पन्छाएर सडक यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। तर माथिबाट पहिरो झर्ने क्रम नरोकिएसम्म सडक पूर्ण रूपमा खुलाउन चुनौती रहेको स्थानीयको भनाइ छ।

























