
विराटनगर । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई आर्थिक सहयोग जुटाउन मञ्चन गरिएको नाटक ‘सिफारिस’ बाट १ लाख ४१ हजार २०० रुपैयाँ संकलन भएको छ ।
आरोहण गुरुकुल विराटनगरले बाढी प्रभावितको राहतका लागि भदौ २१ देखि २६ गतेसम्म सो नाटक मञ्चन गरेको हो । आयोजकका अनुसार सर्वसाधारणतर्फ १०४ वटा टिकट बिक्रीबाट ३२ हजार ८५० रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी विभिन्न विद्यालय, कलेज, संस्था तथा समूहहरूमार्फत ७२१ वटा टिकट बिक्री भई १ लाख ८ हजार ३५० रुपैयाँ रकम संकलन भएको हो । नाटक हेर्न कुल ८२६ जना दर्शक सहभागी भएका थिए ।
संकलित रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरी सार्वजनिक जानकारी गराइने आयोजक आरोहण गुरुकुलले जनाएको छ । बाढी पीडितको सहयोगार्थ आयोजित नाटक मञ्चनमा सहभागी हुने सम्पूर्ण दर्शक, शिक्षण संस्था, सामाजिक अभियन्ता, समाजसेवी एवम् सञ्चारकर्मीहरूप्रति आयोजकले कृतज्ञता व्यक्त गरेको छ ।

























