महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १०:२१

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानले पहिलोपटक देवकोटा स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए। उनका अनुसार आज दिउँसो मैतीदेवीस्थित महाकवि देवकोटा सङ्ग्रहालयमा ‘महाकवि देवकोटा : मिथ र यथार्थ’ विषयक गोष्ठी हुँदैछ। गोष्ठीमा देवकोटाका छोरा पद्म देवकोटाले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनको निधन विसं २०१६ भदौ २९ गते भएको हो। दश वर्षको उमेरदेखि कविता लेख्न थालेका देवकोटाले महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र कविता गरी सयभन्दा बढी कृति नेपाली साहित्यलाई दिएका छन्।

Advertisement

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको सुरुआत गरेका देवकोटाको ‘मुनामदन’ नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तकमध्ये एक हो। उनका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता पाइन्छ। पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पनि उनका सिर्जनाको विशेषता मानिन्छ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’को संयुक्त प्रतिभासँग तुलना गरेको उल्लेख पाइन्छ। नाट्यसम्राट बालकृष्ण समले पनि देवकोटाको प्रतिभा ‘मुनामदन’, ‘शाकुन्तल’ र ‘पागल’मार्फत फरक–फरक रूपमा प्रकट भएको बताएका थिए।

देवकोटाले विदेशी भाषामा नेपाली कृतिको अनुवाद तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली साहित्यको प्रचारमा योगदान दिएका थिए। उनले फ्रान्सिस बेकन र चार्ल्स ल्याम्बलगायत १५ जना गद्य लेखकका निबन्ध चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन भूमिका खेलेका थिए। वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा उनको सक्रिय योगदानलाई पनि महत्त्वपूर्ण मानिन्छ।

देवकोटाको सिर्जनात्मक क्षमता असाधारण थियो। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेको बताइन्छ। चरम आर्थिक अभाव, पारिवारिक वियोग र राजनीतिक सक्रियताका बीच पनि उनले नेपाली साहित्यलाई उच्चस्तरका कृति दिएका थिए।

उनले ‘पागल’ कविता आफैँ अङ्ग्रेजीमा अनुवाद गरेका थिए। पाश्चात्य ग्रीसेली स्रोतबाट नेपालीकरण गरिएका उनका ‘मायाविनी’, ‘सुन्दरी प्रोजर्पिना’ र ‘प्रमिथस’ लगायतका कृतिले उनको साहित्यिक दायरालाई थप फराकिलो बनाएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×