
काठमाडौं । सामुदायिक वनको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले वन अधिकृत पौडेललाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा उनले पदीय जिम्मेवारीको दुरुपयोग गर्दै काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिएबापत सेवाग्राहीलाई दुःख, हैरानी दिएको र आलटाल गरी बदनियतपूर्वक घुस रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएकाले १५ हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

























