नेपाली कांग्रेसद्वारा ‘निर्वाचन निर्देशिका, २०८३’ जारी

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १५:४२
नेपाली कांग्रेसद्वारा ‘निर्वाचन निर्देशिका, २०८३’ जारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औँ महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गर्दै वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र प्रविधिमैत्री बनाएको हो ।

निर्देशिका अनुसार यस पटकको महाधिवेशनमा निर्वाचन प्रक्रियालाई थप आधुनिक र प्रविधिमैत्री बनाइएको छ । उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्क भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिएको छ । साथै, डिजिटल माध्यमबाट मतदाता नामावली सच्याउने र निर्वाचन परिणाम वेबसाइटमा प्रविष्ट गर्ने व्यवस्थाले चुनावी प्रक्रिया छिटो, छरितो र पारदर्शी हुने विश्वास लिइएको छ ।

Advertisement

निर्वाचनको स्वच्छता र अनुशासन कायम राख्न उम्मेदवारहरूका लागि कडा आचारसंहिता लागू गरिएको छ । प्रचार–प्रसारका क्रममा जुलुस वा कोणसभा गर्दा मर्यादित हुनुपर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्न, सवारी साधनको दुरुपयोग गर्न तथा बालबालिकालाई निर्वाचन गतिविधिमा प्रयोग गर्न पूर्णतया निषेध गरिएको छ ।

त्यस्तै, उम्मेदवारहरूले आफ्नो नाम वा चुनाव चिन्ह अंकित टोपी, भेस्ट, ज्याकेट, मास्क वा अन्य कुनै पनि किसिमका प्रचार सामग्री प्रयोग गर्न नपाउने व्यवस्था निर्देशिकामा गरिएको छ ।  निर्देशिकाले महाधिवेशनका विभिन्न तहमा उम्मेदवार हुनका लागि आवश्यक न्यूनतम योग्यता र शुल्कको पनि स्पष्ट निर्धारण गरेको छ । जसअनुसार वडा तहदेखि केन्द्रीय तहसम्मको उम्मेदवारी शुल्क तोकिएको छ, जसमा केन्द्रीय सभापति पदका लागि ४० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

नेपालको संविधान र पार्टी विधानअनुसार निर्देशिकामा समावेशी प्रतिनिधित्वलाई उच्च प्राथमिकता दिइएको छ । अनुसूची–२४ मा उल्लेख भए अनुसार दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु र मुस्लिम समुदायको जनसंख्याको प्रतिशतका आधारमा पार्टीका विभिन्न तहमा समावेशी सिट सुनिश्चित गरिएको छ । यसका साथै कर्णाली तथा सुदूरपश्चिमका १३ पिछडिएका जिल्लाहरू हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, पश्चिम रुकुम, सल्यान, दैलेख, सुर्खेत, जाजरकोट, बाजुरा, बझाङ र अछामका लागि प्रतिनिधित्वको विशेष व्यवस्था गरिएको छ ।

निर्देशिकामा गाउँ–नगरपालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला, प्रदेश र केन्द्रसम्मका निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको ढाँचा तोकिएको छ । साथै, निर्वाचनमा खटिने निर्वाचन अधिकृत, मतदान अधिकृत तथा पदाधिकारीहरूको भूमिका र उनीहरूले पालना गर्नुपर्ने प्रतिज्ञा पत्रको समेत स्पष्ट व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×