
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको दुई दिन बिदा दिने क्रममा आइतबार दिइँदै आएको सार्वजनिक बिदा तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाका कारण सार्वजनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा गम्भीर असर परेको भन्दै यो व्यवस्था हटाउन माग गरेका हुन् ।
संसदमा बोल्दै उनले आइतबारको बिदा आवश्यक नरहेको जिकिर गर्दै पहिलाकै व्यवस्था अनुसार शुक्रबार आधा र शनिबार पूर्ण बिदा कायम गर्न आग्रह गरे ।
सांसद भाटले आइतबार पनि बिदा दिँदा साताभर सर्वसाधारणले सरकारी तथा अन्य सेवा लिन कठिनाइ भोग्नुपरेको र यसले देशको विकास निर्माणका साथै प्रशासनिक कार्यमा समेत ढिलाइ गराएको उल्लेख गरे ।

























