
काठमाडौं । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ ।
नेपाली क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र योगदानको सम्मान स्वरूप विराटनगर किङ्सले राष्ट्रिय टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै, टोलीको ऐतिहासिक सफलतामा नेतृत्वदायी भूमिका निर्वाह गरेका टोलीका कप्तान तथा विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई विशेष सम्मान स्वरूप १ लाख रुपैयाँ प्रदान गरिने छ ।
विराटनगर किङ्सले नेपाली क्रिकेटको विकास, खेलाडीको मनोबल वृद्धि र राष्ट्रिय टोलीको सफलतामा साथ दिने उद्देश्यले यो सम्मान घोषणा गरेको जनाएको छ ।
एसीसी प्रिमियर कप २०२६ को उपाधि जितेर नेपाली क्रिकेट टोलीले एसिया कप २०२७ को यात्रा सुनिश्चित गर्दै सम्पूर्ण नेपाली क्रिकेट प्रेमीलाई गौरवान्वित बनाएको छ । यस ऐतिहासिक सफलताका लागि विराटनगर किङ्सले नेपाली टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगी स्टाफलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।



















