
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित विपद्को व्यवस्थापन र दीर्घकालीन समाधानका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने भएको छ । बुधबार बसेको सर्वदलीय बैठकले सात दिनभित्र संयन्त्र गठन गर्ने गरी छलफल गरेको हो ।
बैठकपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा सहमति भएको जानकारी दिए । ‘अबको सात दिनभित्र सर्वदलीय संयन्त्र बन्ने कुरा भएको छ। संसदीय समिति बनाएर छानबिन गर्ने कुरा पनि भएको छ,’ शाहीले भने । उनका अनुसार बैठकमा ‘सनसेट ल’ लागू गर्ने विषयमा समेत छलफल भएको थियो ।
रसुवामा भदौ १० गते विनाशकारी बाढी आएपछि भोलिपल्टै रास्वपा सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए । त्यसक्रममा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी बैठकमा लामिछानेले उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सहयोग गर्ने गरी सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका थिए ।
लामिछानेको प्रस्तावमा अन्य दलले पनि सहमति जनाएपछि बैठकले १० बुँदे संकल्प जारी गरेको थियो। संकल्पको १०औँ बुँदामा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्ने उल्लेख थियो ।
प्रस्तावित संयन्त्रले विपद्को समयमा उद्धार तथा राहतमा मात्र नभई विपद्पूर्व तयारी, दिगो विकास र नीतिगत सुधारका विषयमा समेत राष्ट्रिय सहमति निर्माणमा भूमिका खेल्ने बताइएको थियो । यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि संयन्त्र गठन गर्ने विषयमा सहमति जनाएको थियो। तर, त्यसअनुसार संयन्त्र गठन हुन सकेको थिएन। बुधबारको बैठकले भने सात दिनभित्र संयन्त्र गठन गर्ने समयसीमा नै तोकेको हो ।

























