
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सरकारले विज्ञ सम्मिलित अध्ययन समिति गठन गर्ने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बाढीको कारण र प्रभावबारे अध्ययन गर्न विज्ञहरूको टोली गठन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । मन्त्रालय स्रोतका अनुसार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने तयारी गरिएको हो ।
प्रस्तावित समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधारविज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहने गरी छलफल भइरहेको जनाइएको छ ।
समितिले बाढीको उद्गमस्थलसम्म पुगेर स्थलगत अध्ययन गर्नेछ । अध्ययनबाट बाढीको कारण, प्रकृति र त्यसका वैज्ञानिक आधार तथा प्रमाण पहिचान गर्ने सरकारको तयारी छ ।

























