
काठमाडौं । भोटेकोशी विपद् तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषय अध्ययन गर्न प्रस्तावित संसदीय विशेष समितिको गठन र कार्यादेश (टीओआर)का विषयमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।
समिति कस्तो आकारको बनाउने, यसको कार्यअवधि कति राख्ने र जिम्मेवारी के–के हुने भन्ने विषयमा बिहीबार दलका नेताहरूबीच छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको हो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा छलफल भएको थियो ।
छलफलमा सहभागी एमाले सांसद पद्मा अर्यालका अनुसार समितिको स्वरूप, समयावधि र कार्यक्षेत्रका विषयमा छलफल भए पनि सहमति हुन सकेन । उनका अनुसार अर्को बैठकबाट सहमति जुटाउने प्रयास गरिनेछ ।
कांग्रेस सांसद निश्कल राईले भने समितिलाई सानो आकारको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए । उनका अनुसार कांग्रेसले तीन महिनाका लागि समिति गठन गर्ने र आवश्यक परे कार्यअवधि थप गर्न सकिने प्रस्ताव गरेको छ ।
‘हामीले ३ महिनाको समिति बनाऔँ, आवश्यक पर्यो भने पछि समय थपौला’, राईले भने, ‘यसमा पक्ष–प्रतिपक्ष भन्दा पनि विपदमा सबै एक हुनुपर्छ ।’ तर, रास्वपाले भने संसद्मा दलहरूको उपस्थितिका आधारमा समितिमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेपछि सहमति जुट्न नसकेको राईले बताए ।
‘फाइभ इज टु वानका आधारमा समिति गठन गरौँ भनेर प्रस्ताव गरेका थियौँ । संयोजक पनि ग्राभिटी भएको नेता बसौँ भन्दा उहाँहरूले संख्यात्मक आधारमा हुनुपर्छ भनेकाले निष्कर्षमा पुगेनौँ’, उनले भने । समितिको आकार, प्रतिनिधित्वको अनुपात, संयोजक चयन तथा कार्यअवधिजस्ता विषयमा दलहरूबीच थप छलफल आवश्यक देखिएको छ । अर्को बैठकमा यी विषय टुंग्याउने तयारी गरिएको छ ।

























