
काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते (गत अगस्ट २६) मा आएको विनाशकारी बाढीलाई सामान्य हिमाली बाढीका रूपमा मात्र बुझ्न नहुने वैज्ञानिकहरूले बताएका छन् ।
लामो समयदेखि हिमालमा भइरहेको तापक्रम वृद्धि, पर्माफ्रस्ट पग्लिने क्रम, हिमनदीको क्षयीकरण र भूकम्पले कमजोर बनाएको भू–भाग एकैपटक प्रभावित हुँदा असाधारण प्रकृतिको विपद् सिर्जना भएको वैज्ञानिक अध्ययनको निष्कर्ष छ । २० भन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न अध्ययनअनुसार लाङटाङ लिरुङ क्षेत्रमा विपद्को आधार तत्कालै तयार भएको थिएन । सन् २०१५ (२०७२ साल)को गोरखा भूकम्पपछि नै उक्त क्षेत्रमा चट्टान तथा हिमबरफ खस्ने क्रम बढेको थियो । भूकम्पका कारण पहाडको संरचना कमजोर बनेपछि त्यस क्षेत्रमा पहिरो तथा हिमपहिरोको जोखिम पनि बढेको वैज्ञानिकहरूले बताएका छन् ।
त्यसमाथि पछिल्ला वर्षमा बढ्दै गएको तापक्रमले हिमाली भू–भागको स्थायित्वमा थप असर पारेको देखिएको छ । अध्ययनका अनुसार हिमालयमा शून्य डिग्री सेल्सियसको रेखा प्रत्येक दशकमा ३२० फिटभन्दा बढी माथि सर्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव उच्च हिमाली क्षेत्रमा लामो समयदेखि जमेको पर्माफ्रस्टमा परेको छ ।
पर्माफ्रस्टमा बरफसँगै चट्टान, माटो र बालुवा जमेर रहेका हुन्छन् । यसले पहाडको संरचनालाई बाँधेर राख्ने काम गर्छ । तर, तापक्रम बढेसँगै यस्तो जमिन पग्लिँदा चट्टानबीचको पकड कमजोर हुने र पानी पहाडका भित्री चिरामा पस्ने अवस्था सिर्जना हुन्छ । यसले पहाडलाई क्रमशः अस्थिर बनाउँदै लैजान सक्छ ।
युट्रेच्ट विश्वविद्यालयका पर्वतीय जलविज्ञ वाल्टर इम्मरजिलका अनुसार पर्माफ्रस्ट पग्लिनु हिमाली क्षेत्रमा चट्टान कमजोर हुनुको महत्वपूर्ण कारण बन्न सक्छ । चट्टानको शक्ति घटेसँगै पानी भित्र पस्ने क्रम बढ्दा पहाडको आन्तरिक संरचना थप कमजोर हुने उनको भनाइ छ ।
लाङटाङ लिरुङ हिमनदीमा आएको परिवर्तनले पनि यही जोखिमलाई बढाएको वैज्ञानिकहरूले बताएका छन् । पछिल्ला दशकमा हिमनदी पातलिँदै र खुम्चिँदै गएको छ । विशेषगरी सन् २०१० यता यसको क्षयीकरण तीव्र भएको अध्ययनले देखाएको छ । हिमनदी पग्लिँदा निस्कने पानी चट्टानका प्राकृतिक दरारमा पुग्दा चट्टान कमजोर हुने प्रक्रिया थप तीव्र हुन सक्छ ।
त्यसैबीच, गत वर्षको अक्टोबर र नोभेम्बरमा उक्त क्षेत्रमा असामान्य रूपमा धेरै हिमपात भएको थियो । त्यसपछि यस वर्ष जुलाई र अगस्टमा अत्यधिक गर्मी भयो । अध्ययनअनुसार जलवायु परिवर्तनका कारण जुलाई र अगस्टको तापक्रम विगतको तुलनामा करिब १.५ डिग्री सेल्सियस बढी भएको देखिएको छ । वार्षिक औसत तापक्रम पनि करिब २ डिग्री सेल्सियसले बढेको पाइएको छ ।
अत्यधिक हिमपातपछि आएको असामान्य गर्मीले ठूलो मात्रामा हिमबरफ पगाल्यो । पग्लिएको पानी कमजोर भइसकेका चट्टान र पहाडका दरारभित्र पस्दा भू–भागलाई थप अस्थिर बनाएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।
यही कमजोर अवस्थाबीच अगस्ट २६ मा लाङटाङ लिरुङ हिमालको करिब २ हजार फिट चौडाइको चट्टान र हिमबरफको ठूलो हिस्सा छुट्टिएर करिब ७ हजार फिट तल नदीतर्फ खस्यो । ठूलो परिमाणको चट्टान र बरफ अत्यन्त तीव्र गतिमा खस्दा उत्पन्न ऊर्जा करिब ५.२ म्याग्निच्युडको भूकम्पबाट निस्कने ऊर्जासँग तुलनायोग्य रहेको यसअघिको वैज्ञानिक विश्लेषणमा उल्लेख छ ।
ठूलो परिमाणको चट्टान र हिमबरफ नदीमा खसेपछि तत्कालै बाढीको रूप लिएको थियो । त्यसबाट उत्पन्न ताप र ऊर्जाका कारण केही बरफ तीव्र रूपमा पग्लियो । त्यसपछि पानीको तीव्र बहावले नदी आसपास रहेका थप बरफ, चट्टान र माटो बगाउँदै लग्यो । पानीमा ठूलो मात्रामा गेग्र्यान मिसिएपछि बाढी झन् शक्तिशाली बनेको वैज्ञानिकहरूको भनाइ छ ।
साँघुरो हिमाली उपत्यकाबाट तीव्र गतिमा तल झरेको उक्त बाढीले २० माइलभन्दा बढी दूरीसम्म विनाश पुर्याएको अध्ययनले देखाएको छ । यस अर्थमा बाढीको विनाशकारी शक्ति पानीको बहावबाट नभई चट्टान, हिमबरफ, माटो र गेग्र्यानको विशाल मिश्रणबाट बनेको थियो ।
वैज्ञानिकहरूले यस घटनालाई हिमालयमा देखिएका परम्परागत बाढी वा पहिरोभन्दा फरक प्रकृतिको घटना मानेका छन् । यसको आकार, गति र एकैपटक सक्रिय भएका प्राकृतिक प्रक्रियाका कारण विद्यमान पूर्वसूचना प्रणालीबाट पर्याप्त समयअघि जोखिम पहिचान गर्न कठिन हुने उनीहरूको निष्कर्ष छ ।
अध्ययन विश्व वेदर एट्रिब्युसनसँग आबद्ध हिमनदी तथा जलवायु वैज्ञानिकहरूले वैज्ञानिक तथ्य र यसअघि प्रकाशित अनुसन्धानका आधारमा तयार गरेका हुन् । तर, अध्ययन अहिलेसम्म समकक्षी समीक्षा अर्थात् पियर–रिभ्युबाट भने गुज्रिएको छैन ।
वैज्ञानिकहरूको निष्कर्षमा भूकम्पलाई मात्रै बाढीको कारण मानिएको छैन । बरु भूकम्पले पहिले नै कमजोर बनाएको हिमाली संरचनामाथि तापक्रम वृद्धि, पर्माफ्रस्ट पग्लिने क्रम र हिमनदीको क्षयीकरणजस्ता दीर्घकालीन परिवर्तन थपिँदै जाँदा जोखिम बढेको देखाइएको छ ।
जलवायु वैज्ञानिक तथा इम्पेरियल कलेज लन्डनकी प्राध्यापक फ्रिडरिके ओटोले यस्ता घटनाको पूर्वतयारी गर्दा जलवायु परिवर्तनको प्रभावलाई समेत ध्यान दिनुपर्ने बताएकी छन् । उनका अनुसार हरितगृह ग्यास उत्सर्जन घटाउने प्रयास प्रभावकारी हुन नसके हिमाली क्षेत्रमा यस्ता जटिल र तीव्र प्रकृतिका विपद्को जोखिम थप बढ्न सक्छ ।
हिमालयको भौगोलिक जटिलताका कारण वर्षा, हिमपात र तापक्रममा भइरहेको परिवर्तनको ठ्याक्कै सम्बन्ध स्थापित गर्न पर्याप्त तथ्यांकसमेत उपलब्ध नभएको वैज्ञानिकहरूले बताएका छन् । तर, लाङटाङ लिरुङको घटनाले हिमाली क्षेत्रको जोखिम मूल्यांकन गर्दा तत्काल देखिने वर्षा वा नदीको बहाव मात्र नभई वर्षौंदेखि हिमालभित्र भइरहेका परिवर्तनलाई समेत निगरानी गर्नुपर्ने आवश्यकता देखाएको छ ।

























