‘भोटेकोशी बाढीलाई सामान्य हिमाली बाढीका रूपमा मात्र बुझ्न हुँदैन’

Share this
614shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १३:५८

काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते (गत अगस्ट २६) मा आएको विनाशकारी बाढीलाई सामान्य हिमाली बाढीका रूपमा मात्र बुझ्न नहुने वैज्ञानिकहरूले बताएका छन् ।

लामो समयदेखि हिमालमा भइरहेको तापक्रम वृद्धि, पर्माफ्रस्ट पग्लिने क्रम, हिमनदीको क्षयीकरण र भूकम्पले कमजोर बनाएको भू–भाग एकैपटक प्रभावित हुँदा असाधारण प्रकृतिको विपद् सिर्जना भएको वैज्ञानिक अध्ययनको निष्कर्ष छ । २० भन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न अध्ययनअनुसार लाङटाङ लिरुङ क्षेत्रमा विपद्को आधार तत्कालै तयार भएको थिएन । सन् २०१५ (२०७२ साल)को गोरखा भूकम्पपछि नै उक्त क्षेत्रमा चट्टान तथा हिमबरफ खस्ने क्रम बढेको थियो । भूकम्पका कारण पहाडको संरचना कमजोर बनेपछि त्यस क्षेत्रमा पहिरो तथा हिमपहिरोको जोखिम पनि बढेको वैज्ञानिकहरूले बताएका छन् ।

Advertisement

त्यसमाथि पछिल्ला वर्षमा बढ्दै गएको तापक्रमले हिमाली भू–भागको स्थायित्वमा थप असर पारेको देखिएको छ । अध्ययनका अनुसार हिमालयमा शून्य डिग्री सेल्सियसको रेखा प्रत्येक दशकमा ३२० फिटभन्दा बढी माथि सर्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव उच्च हिमाली क्षेत्रमा लामो समयदेखि जमेको पर्माफ्रस्टमा परेको छ ।

पर्माफ्रस्टमा बरफसँगै चट्टान, माटो र बालुवा जमेर रहेका हुन्छन् । यसले पहाडको संरचनालाई बाँधेर राख्ने काम गर्छ । तर, तापक्रम बढेसँगै यस्तो जमिन पग्लिँदा चट्टानबीचको पकड कमजोर हुने र पानी पहाडका भित्री चिरामा पस्ने अवस्था सिर्जना हुन्छ । यसले पहाडलाई क्रमशः अस्थिर बनाउँदै लैजान सक्छ ।

युट्रेच्ट विश्वविद्यालयका पर्वतीय जलविज्ञ वाल्टर इम्मरजिलका अनुसार पर्माफ्रस्ट पग्लिनु हिमाली क्षेत्रमा चट्टान कमजोर हुनुको महत्वपूर्ण कारण बन्न सक्छ । चट्टानको शक्ति घटेसँगै पानी भित्र पस्ने क्रम बढ्दा पहाडको आन्तरिक संरचना थप कमजोर हुने उनको भनाइ छ ।

लाङटाङ लिरुङ हिमनदीमा आएको परिवर्तनले पनि यही जोखिमलाई बढाएको वैज्ञानिकहरूले बताएका छन् । पछिल्ला दशकमा हिमनदी पातलिँदै र खुम्चिँदै गएको छ । विशेषगरी सन् २०१० यता यसको क्षयीकरण तीव्र भएको अध्ययनले देखाएको छ । हिमनदी पग्लिँदा निस्कने पानी चट्टानका प्राकृतिक दरारमा पुग्दा चट्टान कमजोर हुने प्रक्रिया थप तीव्र हुन सक्छ ।

त्यसैबीच, गत वर्षको अक्टोबर र नोभेम्बरमा उक्त क्षेत्रमा असामान्य रूपमा धेरै हिमपात भएको थियो । त्यसपछि यस वर्ष जुलाई र अगस्टमा अत्यधिक गर्मी भयो । अध्ययनअनुसार जलवायु परिवर्तनका कारण जुलाई र अगस्टको तापक्रम विगतको तुलनामा करिब १.५ डिग्री सेल्सियस बढी भएको देखिएको छ । वार्षिक औसत तापक्रम पनि करिब २ डिग्री सेल्सियसले बढेको पाइएको छ ।

अत्यधिक हिमपातपछि आएको असामान्य गर्मीले ठूलो मात्रामा हिमबरफ पगाल्यो । पग्लिएको पानी कमजोर भइसकेका चट्टान र पहाडका दरारभित्र पस्दा भू–भागलाई थप अस्थिर बनाएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

यही कमजोर अवस्थाबीच अगस्ट २६ मा लाङटाङ लिरुङ हिमालको करिब २ हजार फिट चौडाइको चट्टान र हिमबरफको ठूलो हिस्सा छुट्टिएर करिब ७ हजार फिट तल नदीतर्फ खस्यो । ठूलो परिमाणको चट्टान र बरफ अत्यन्त तीव्र गतिमा खस्दा उत्पन्न ऊर्जा करिब ५.२ म्याग्निच्युडको भूकम्पबाट निस्कने ऊर्जासँग तुलनायोग्य रहेको यसअघिको वैज्ञानिक विश्लेषणमा उल्लेख छ ।

ठूलो परिमाणको चट्टान र हिमबरफ नदीमा खसेपछि तत्कालै बाढीको रूप लिएको थियो । त्यसबाट उत्पन्न ताप र ऊर्जाका कारण केही बरफ तीव्र रूपमा पग्लियो । त्यसपछि पानीको तीव्र बहावले नदी आसपास रहेका थप बरफ, चट्टान र माटो बगाउँदै लग्यो । पानीमा ठूलो मात्रामा गेग्र्यान मिसिएपछि बाढी झन् शक्तिशाली बनेको वैज्ञानिकहरूको भनाइ छ ।

साँघुरो हिमाली उपत्यकाबाट तीव्र गतिमा तल झरेको उक्त बाढीले २० माइलभन्दा बढी दूरीसम्म विनाश पुर्‍याएको अध्ययनले देखाएको छ । यस अर्थमा बाढीको विनाशकारी शक्ति पानीको बहावबाट नभई चट्टान, हिमबरफ, माटो र गेग्र्यानको विशाल मिश्रणबाट बनेको थियो ।

वैज्ञानिकहरूले यस घटनालाई हिमालयमा देखिएका परम्परागत बाढी वा पहिरोभन्दा फरक प्रकृतिको घटना मानेका छन् । यसको आकार, गति र एकैपटक सक्रिय भएका प्राकृतिक प्रक्रियाका कारण विद्यमान पूर्वसूचना प्रणालीबाट पर्याप्त समयअघि जोखिम पहिचान गर्न कठिन हुने उनीहरूको निष्कर्ष छ ।

अध्ययन विश्व वेदर एट्रिब्युसनसँग आबद्ध हिमनदी तथा जलवायु वैज्ञानिकहरूले वैज्ञानिक तथ्य र यसअघि प्रकाशित अनुसन्धानका आधारमा तयार गरेका हुन् । तर, अध्ययन अहिलेसम्म समकक्षी समीक्षा अर्थात् पियर–रिभ्युबाट भने गुज्रिएको छैन ।

वैज्ञानिकहरूको निष्कर्षमा भूकम्पलाई मात्रै बाढीको कारण मानिएको छैन । बरु भूकम्पले पहिले नै कमजोर बनाएको हिमाली संरचनामाथि तापक्रम वृद्धि, पर्माफ्रस्ट पग्लिने क्रम र हिमनदीको क्षयीकरणजस्ता दीर्घकालीन परिवर्तन थपिँदै जाँदा जोखिम बढेको देखाइएको छ ।

जलवायु वैज्ञानिक तथा इम्पेरियल कलेज लन्डनकी प्राध्यापक फ्रिडरिके ओटोले यस्ता घटनाको पूर्वतयारी गर्दा जलवायु परिवर्तनको प्रभावलाई समेत ध्यान दिनुपर्ने बताएकी छन् । उनका अनुसार हरितगृह ग्यास उत्सर्जन घटाउने प्रयास प्रभावकारी हुन नसके हिमाली क्षेत्रमा यस्ता जटिल र तीव्र प्रकृतिका विपद्को जोखिम थप बढ्न सक्छ ।

हिमालयको भौगोलिक जटिलताका कारण वर्षा, हिमपात र तापक्रममा भइरहेको परिवर्तनको ठ्याक्कै सम्बन्ध स्थापित गर्न पर्याप्त तथ्यांकसमेत उपलब्ध नभएको वैज्ञानिकहरूले बताएका छन् । तर, लाङटाङ लिरुङको घटनाले हिमाली क्षेत्रको जोखिम मूल्यांकन गर्दा तत्काल देखिने वर्षा वा नदीको बहाव मात्र नभई वर्षौंदेखि हिमालभित्र भइरहेका परिवर्तनलाई समेत निगरानी गर्नुपर्ने आवश्यकता देखाएको छ ।

तपाइको प्रतिक्रिया
विदेशी हस्तक्षेपबारे सरकारसँग जवाफ माग्दै श्रम संस्कृति पार्टी
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रारम्भिक मतदाता नामावली
सरकारबाट पहल नभए फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउने एन्फाको भनाइ
बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप
अस्पतालबाहिर सुत्केरी प्रकरणः स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस
अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
एक वर्षमा अख्तियारमा ४० हजारभन्दा बढी उजुरी
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×