
काठमाडौं । श्रम संस्कृति पार्टीले ‘द ग्रे जोन’को रिपोर्ट र सार्वजनिक कागजातका आधारमा नेपालको राजनीति तथा नेतृत्व विकासक्रममा विदेशी हस्तक्षेप भइरहेको भन्दै सरकारसँग जवाफ मागेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर पार्टीका प्रमुख सचेतक आरेन राईले यस्ता गतिविधिले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामाथि प्रश्न उठाएको बताए ।
सांसद राईले ‘द ग्रे जोन’मा प्रकाशित रिपोर्ट तथा सार्वजनिक कागजातले नेपालमा विदेशी सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकासका कार्यक्रममाथि गम्भीर प्रश्न उठाएको बताए । उनका अनुसार कागजातमा कसैको नाम उल्लेख हुँदैमा मात्र विदेशी हस्तक्षेप पुष्टि नहुने भए पनि उठेका प्रश्नको सरकारले जवाफ दिनुपर्ने हुन्छ ।
उनले नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास तथा युवा परिचालनलगायतका कार्यक्रमको विवरण, बजेट र उद्देश्य सार्वजनिक गर्न सरकारसँग माग गरे । त्यस्ता कार्यक्रमबाट कुन संस्था वा व्यक्तिले कस्तो तालिम वा आर्थिक सहयोग प्राप्त गरे भन्ने विवरण संसद्मा पेस गर्नुपर्ने उनको भनाइ थियो ।
यस्तै, विदेशी सहयोग राजनीतिक दलको निर्वाचन, नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रयोग भएको हो वा होइन भन्ने विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न तथा भविष्यमा नेपालको राजनीति र निर्वाचनमा हुने विदेशी प्रभाव रोक्न स्पष्ट कानुनी मापदण्ड र संसदीय निगरानीको व्यवस्था गर्न पनि उनले माग गरे ।
राईले ‘द ग्रे जोन’को रिपोर्टलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाबारे पनि टिप्पणी गरे । उनले यस विषयमा सत्तापक्ष र केही दलका नेताले अनावश्यक राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए । ‘जेनजी आन्दोलन वास्तवमा एउटा उमेर समूहले गरेको हो, त्यसलाई कुनै पार्टी वा व्यक्ति विशेषसँग जोडेर हेर्न मिल्दैन । तर सत्तापक्षले आफ्नो विरुद्ध प्रश्न उठ्नेबित्तिकै आन्दोलनकारीलाई देखाएर ढाकछोप गर्ने प्रयास गरिरहेको छ,’ उनले भने ।
सांसद राईले नेपालको राजनीतिक भविष्य नेपाली जनताको मत, संविधान र नेपाली जनताको स्वार्थबाट निर्देशित हुनुपर्नेमा जोड दिए । ‘हामी मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध विस्तार गर्न चाहन्छौँ, तर नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ,’ उनले भने ।

























