बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १८:३०
बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तत्काल राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने ती आयोजनामा कार्यरत कर्मचारी तथा कामदारमध्ये धेरै बेपत्ता भएका छन् । प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई खोजी कार्य, सामाजिक संस्कार तथा जीवनयापनमा सहयोग पुग्ने गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो।

Advertisement

सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पहिलो चरणमा बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय भएको छ।

त्यस्तै, स्थायी कर्मचारीको हकमा प्राधिकरणबाट क्षतिपूर्ति वा अन्य रकम उपलब्ध गराउने सम्बन्धमा थप निर्णय नभएसम्म, अथवा बढीमा ६ महिनासम्म, बेपत्ता कर्मचारीको नजिकको हकवालालाई निर्वाहका लागि मासिक रकम उपलब्ध गराइने भएको छ। त्यसका लागि बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरिएको शाहीले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×