
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति सन्तुलन तीव्र रूपमा बदलिन थालेको छ ।
विशेष महाधिवेशनपछि संस्थापन अर्थात् सभापति गगनकुमार थापा पक्ष र इतर अर्थात् पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच दूरी बढेका बेला देउवालाई साथ दिँदै आएका अधिकांश नेता पार्टीको मूलधारमा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरूको चहलपहल बढ्दै जाँदा देउवा भने आफ्नै समूहभित्र क्रमशः साँघुरिँदै एवं एक्लिँदै गएका छन् ।
विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई अस्वीकार गर्दै देउवा पक्षले समानान्तर रूपमा अघि सारेको महाधिवेशनको तयारी अहिले कमजोर बन्दै गएको देखिन्छ । देउवा पक्षका प्रभावशाली नेताहरू नै संस्थापन पक्षमा समाहित भएपछि पार्टीभित्र विभाजनको अवस्था अन्त्य गर्ने प्रयासले गति लिएको हो ।
कांग्रेसको विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । असोज ७ गते पालिका, १० गते प्रदेश क्षेत्र तथा संघीय निर्वाचन क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।
केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर सिंहले वडा तहदेखि केन्द्रसम्मका अधिवेशन सञ्चालनका लागि तयारी पूरा भएको बताए ।
यता, देउवा पक्षले भने असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिरमा महाधिवेशन गर्ने छुट्टै कार्यतालिका सार्वजनिक गरेको थियो । तर, उक्त कार्यतालिका अघि बढाइरहेको समूहका धेरैजसो प्रभावशाली नेता नै मूल कांग्रेसमा फर्किएपछि देउवा पक्षको समानान्तर अभियानमा दबाब बढेको छ ।
बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकले देउवा समूहबाट मूलधारमा फर्किएका ५० भन्दा बढी नेतालाई औपचारिक रूपमा स्वागत गरेको छ । यससँगै लामो समयदेखि दुई धारमा विभाजित कांग्रेसमा एकताको वातावरण बनाउन नेतृत्वले थप पहल थालेको छ ।
सभापति थापाले पूर्वसभापति देउवालाई समेत महाधिवेशनमा सहभागी गराउने प्रयास जारी राख्ने बताएका छन् । उनले महाधिवेशन उद्घाटनको दिन बिहानसम्म पनि देउवालाई सहभागी गराउने प्रयास गरिने बताए । ‘म १६ गतेसम्म कोसिस गर्छु, हामी सबै मिलेर कोसिस गरौँ,’ थापाले भने, ‘१६ गते महाधिवेशनको उद्घाटनका दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई अधिवेशनमा लिएर आउने कोसिस हामीले गर्ने हो ।’
थापाले विगतका विवाद र आरोप प्रत्यारोपलाई थाती राखेर पार्टीलाई एकताबद्ध बनाउने अभियानमा लाग्न नेताहरूलाई आग्रह गरेका छन् । आफ्नै पार्टीका नेतामाथि टिप्पणी गर्ने प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ छ ।
विशेष महाधिवेशनपछि देउवा पक्षबाट दूरी बनाएका र लामो समय समानान्तर गतिविधिमा रहेका नेताहरू क्रमशः मूलधारमा फर्किएपछि कांग्रेसमा शक्ति समीकरण फेरिएको छ । महालक्ष्मी उपाध्याय डिना, इन्द्रबहादुर बानियाँ, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल र किरण यादवलगायत नेता संस्थापन पक्षमा समाहित भइसकेका छन् ।
महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वलाई बहिष्कार गर्दै आएका नेताहरू नै आधिकारिक १५औँ महाधिवेशनमा सहभागी हुने अवस्थामा पुग्नु कांग्रेसका लागि सकारात्मक सन्देश भएको बताए । यस्तै, अर्का महामन्त्री गुरुराज घिमिरेले पनि १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने उद्देश्यअनुसार नेताहरूबीच समझदारी बनेको बताएका छन् । उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा रहेका नेताहरू विशेष महाधिवेशनबाट बनेको समितिमा समाहित भएका छन् ।
कांग्रेसका नेताहरूले पार्टीका करिब ९० प्रतिशत नेता सानेपामा फर्किएको दाबी गरेका छन् । यसले देउवा पक्षले अघि सारेको समानान्तर महाधिवेशनको अभियानलाई थप जटिल बनाएको छ ।
तर, देउवाको साथमै रहेका नेताहरूले भने केही नेता मूलधारमा फर्किँदैमा आफ्नो अभियान कमजोर नभएको दाबी गरिरहेका छन् । नेता शंकर भण्डारीले केही व्यक्तिले साथ छाड्दैमा आफूहरूले अघि सारेको महाधिवेशन कार्यतालिका प्रभावित नहुने बताए ।
देउवाको साथमा रहेका नेताहरूमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजय गच्छदार, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक, शंकर भण्डारी, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, भीमसेनदास प्रधान, दीपक खड्का, पूर्णबहादुर तामाङ कान्छाराम, कुन्दनराज काफ्ले, जितजंग बस्नेत, दीपक कुँइकेल र सुदूरपश्चिमका प्रदेश सभापति वीरबहादुर बलायरलगायत छन् ।
यद्यपि, देउवा पक्षमा रहेका केही नेता पनि संस्थापन पक्षसँग संवादमा रहेको दाबी गरिएको छ । विमलेन्द्र निधि, प्रकाशशरण महत, कान्छाराम तामाङ, कुन्दनराज काफ्ले र मोहनबहादुर बस्नेतलगायत नेताहरू संस्थापन पक्षले थप लचकता अपनाए महाधिवेशनमा सहभागी हुन सक्ने दाबी गरिएको छ ।
पूर्वउपसभापति पूर्णबहादुर खड्का भने अहिलेसम्म सानेपा पुगेका छैनन् । विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वविरुद्ध सर्वोच्च अदालतमा मुद्दा रहेकाले आफू समायोजनमा नगएको उनको भनाइ छ । यद्यपि, उनीनिकट अधिकांश नेता भने पार्टीको आधिकारिक धारमा समाहित भइसकेका छन् ।
देउवालाई साथ दिँदै आएका मीनबहादुर विश्वकर्माका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा देउवाको भूमिका रहे पनि विशेष परिस्थितिमा भएको विशेष महाधिवेशन र सर्वोच्च अदालतमा विचाराधीन विवादका कारण अहिलेको राजनीतिक अवस्थालाई फरक ढंगले बुझ्नुपर्ने अवस्था आएको छ ।
कांग्रेसभित्रको विवाद मिलाउने प्रयासमा पूर्वमहामन्त्री डा. शेखर कोइरालाले पनि पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । उनले पार्टीलाई पूर्ण रूपमा एकताबद्ध बनाउन संवाद र सहमतिको बाटोबाट अघि बढ्नुपर्ने बताए ।
कोइरालाले कांग्रेसभित्र को सही र को गलत भन्ने बहसमा भन्दा पार्टीलाई एकताबद्ध राख्ने विषयमा ध्यान दिनुपर्ने बताएका छन् । उनका अनुसार पार्टी विभाजनबाट आफू उत्साहित हुन नसक्ने र आफ्नै सहकर्मीप्रति असुरक्षा, अपमान तथा घृणा पैदा गरेर पार्टी निर्माण गर्न नसकिने अवस्था छ ।
कोइराला पक्षका अधिकांश नेता पनि सभापति थापा नेतृत्वको धारमा समाहित भइसकेका छन् । यद्यपि, धनराज गुरुङ, बद्री पाण्डे, मीनेन्द्र रिजाल र बलबहादुर केसीलगायत केही नेता भने अहिलेसम्म स्पष्ट रूपमा कुनै धारमा खुलेका छैनन् ।
यसरी महाधिवेशनको मिति नजिकिँदै गर्दा एकातिर सानेपामा फर्किने नेताहरूको संख्या बढिरहेको छ भने अर्कोतिर देउवासँग रहने नेताहरूको घेरा साँघुरिँदै गएको छ । कांग्रेसको आगामी महाधिवेशनले पार्टीको औपचारिक नेतृत्व मात्र चयन गर्ने नभई विशेष महाधिवेशनपछि देखिएको विभाजनलाई कति हदसम्म अन्त्य गर्छ भन्ने प्रश्नसमेत महत्वपूर्ण बनेको नेताहरुले बताएका छन् ।



















