
काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा डा. सीके राउतले उम्मेदवारी दर्ता गराएका छन् । असोज १० गते वीरगन्जमा हुने दोस्रो महाधिवेशनका लागि शुक्रबार पार्टीको केन्द्रीय निर्वाचन समितिले विभिन्न पदमा परेको उम्मेदवारीको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्षसहित विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदका लागि १४ जना, महासचिवमा तीन जना, राष्ट्रिय उपमहासचिवमा दुई जना र राष्ट्रिय सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् । प्रारम्भिक नामावलीअनुसार उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अन्सारी, संजयकुमार मिश्र, मदनमोहन चौधरी, परमेश्वर मुर्मु, रौशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाको उम्मेदवारी परेको छ ।
महासचिवमा ममता झा, चन्दनकुमार सिंह र संजयकुमार यादव तथा राष्ट्रिय उपमहासचिवमा निर्मलकुमार मण्डल र ललितचन्द्र मलिकले उम्मेदवारी दिएका छन् । राष्ट्रिय सचिवका लागि सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अञ्जुनेती देवी, रोहित महतो, पारस प्रसाद साह, राधा कुमारी यादव, बाल गोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्य तालिकाअनुसार प्रारम्भिक उम्मेदवार नामावलीमाथि असोज ३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दाबी विरोध गर्न सकिनेछ । असोज ४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।



















