
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज (आइतबार) थप ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ । अधिवेशनबाट वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि पनि छनोट गरिनेछ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो । ती अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको समितिले जनाएको छ ।
बाढीपहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तत्काल वडा अधिवेशन हुने छैन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित ती जिल्लामा स्थानीय परिस्थितिको मूल्यांकन गरी अधिवेशनको नयाँ मिति तय गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शनिबार सुरु भएको वडा अधिवेशन उत्साहप्रद रूपमा अघि बढेको जानकारी दिए । उनका अनुसार बाँकी जिल्लामा पनि निर्धारित प्रक्रियाअनुसार वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ ।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा तहबाट सुरु भएको निर्वाचन प्रक्रिया क्रमशः माथिल्ला तहमा अघि बढ्नेछ ।

























