
काठमाडौं । नेपालकी कराँते खेलाडी एरिका गुरुङ २० औँ एसियाली खेलकुदको महिला कुमुते ६८ केजीमाथिको सेमिफाइनलमा पराजित भएकी छन् ।
आइतबार तोयोहासी जिम्नाजियममा भएको सेमिफाइनलमा एरिका कजाखस्तानकी बेरुल्टसेभा सोफियासँग २–१ ले पराजित भइन् । खेल सकिन दुई सेकेन्ड बाँकी रहँदासम्म दुवै खेलाडी १–१ को बराबरीमा थिए । उक्त अवस्थामा समय सकिएको भए एरिका विजयी हुने थिइन् ।
तर, खेल सकिन दुई सेकेन्ड बाँकी छँदा भिडियो रिप्लेपछि सोफियाले युकोमार्फत थप एक अंक प्राप्त गरिन् । सोही अंक निर्णायक बन्दा एरिकाको फाइनल यात्रा रोकिएको हो ।
गत संस्करणको फाइनलमा पनि एरिका सोफियासँगै पराजित भएकी थिइन् । अब एरिकाले कांस्य पदकका लागि आइतबार नै साउदी अरबकी मोस्तफा डिनासँग प्रतिस्पर्धा गर्नेछिन् ।
यसअघि एरिकाले क्वाटरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गरेकी थिइन् । एरिकाले युकोमा एक तथा वाजा अरीमा तीन अंक जोड्दा याराले युकोमार्फत एक अंक मात्र हासिल गरेकी थिइन् । क्वाटरफाइनल जितसँगै एरिकाले कम्तीमा कांस्य पदक पक्का गरेकी हुन् ।
यसअघि जुनमा इन्डोनेसियाको बालीमा सम्पन्न २२ औँ एसियन सिनियर कराँते च्याम्पियनसिपमा पनि एरिका र याराबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा याराले रजत तथा एरिकाले कांस्य पदक जितेकी थिइन् ।
२२ वर्षीया एरिकाबाट नेपालले एसियाली खेलकुदमा पदकको अपेक्षा गरेको छ । उनले १९ औँ एसियाड, कराँते प्रिमियर लिग तथा एसियन च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा रजतसहित विभिन्न पदक जितिसकेकी छन्।

























