मधेश प्रदेशमा आत्महत्याका घटना बढे

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १५:३५
मधेस प्रदेशमा आत्महत्याका घटना बढे

जनकपुरधाम। पछिल्लो समय मधेश प्रदेशका जिल्लामा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको अवधिमा मधेशका विभिन्न जिल्लामा गरी २५० जनाले आत्महत्या गरेका छन्।

अधिकांशले झुन्डिएर र विष सेवनलाई आत्महत्याको माध्यम बनाउँदै आएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चालु आव २०८३/८४ को साउनमा ८८ र भदौमा १६२ गरी दुई महिनाको अवधिमा २५० जनाले आत्महत्या गरेका मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

Advertisement

उनका अनुसार सो अवधिमा सबैभन्दा बढी सिराहा र बारामा ४६/४६, सप्तरीमा ३९, रौतहटमा ३०, धनुषा र महोत्तरीमा २४/२४, सर्लाहीमा २१ र पर्सामा २० जनाले आत्महत्या गरेका छन्। यसरी अत्यधिक वृद्धि भएको आत्महत्याको ठोस कारण यकिन गर्न नसके पनि घरायसी विवाद, प्रेममा असफलता, गरिबी, बेरोजगारी र जीवनको दुःख कष्ट सहन नसकेर लगायत रहेका बुद्धिजीवीहरू बताउँछन्।

उमेरको हिसाबले १६ वर्ष मुनिदेखि ७० वर्षसम्मका वृद्धवृद्धाले आत्महत्या गर्दै आएका छन्। आत्महत्या गर्नेहरूमा १८ वर्षदेखि ४० वर्षबीचको संख्या बढी रहेको प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बताए। त्यस्तै, पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने गरेका उनको भनाइ छ। महिलामाथि हिंसा बढी हुने गरेकाले पनि पुरुषको तुलनामा बढी आत्महत्या गर्ने गरेका महिला अधिकारकर्मी सरस्वती मण्डलले बताइन्।

अधिकांशले झुन्डिएर र विष पिएर आत्महत्या गर्ने गरेका भन्दै प्रहरी वरिष्ठ उपरीक्षक ढकालले केहीले हाम फालेर आत्महत्या गर्ने गरेको उल्लेख गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×