
पाँचथर । नेपाली कांग्रेसले पाँचथरका ६० वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका सबै वडामा अधिवेशन सम्पन्न भएको हो।
मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलका अनुसार शनिबार ४१ र आइतबार १९ वडामा अधिवेशन सम्पन्न भएको हो। उनका अनुसार सबै वडामा अधिवेशन निर्विवाद रूपमा सम्पन्न भएको छ।
जिल्ला सभापति रुपनारायण जवेगूले सबै वडामा सर्वसम्मत रूपमा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको बताए। उनका अनुसार धेरै आकांक्षी रहेका वडामा समेत छलफल गरेर सहमतिमै नेतृत्व चयन गरिएको हो। प्रत्येक वडामा एक सभापति, दुई उपसभापति, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित पदाधिकारी तथा सदस्य चयन गरिएको छ।
क्षेत्रीय प्रतिनिधि भने क्रियाशील सदस्यताको आधारमा चयन गरिएको निर्वाचन अधिकृतहरूले जनाएका छन्। १५औँ महाधिवेशनका लागि पाँचथरका दुई निर्वाचन क्षेत्रबाट १ हजार २ सयभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन भएको सभापति जवेगूले बताए।

























