
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार फासीवादी शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष ओलीले आफू र पार्टीमाथि निरन्तर प्रहार भइरहेको बताएकाछन्।
अध्यक्ष ओलीले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताउँदै लोकतन्त्र र संविधानमाथिको हमलाविरुद्ध पार्टीले सङ्घर्ष गर्नुपर्ने धारणा राखेका छन्। उनले सरकारमाथि राज्यस्रोतको दुरुपयोग, दमन तथा वाक् स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोपसमेत लगाएका छन्।
पार्टीभित्र अध्यक्ष हटाउनुपर्छ भन्ने अभिव्यक्ति सार्वजनिक भएकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वविरुद्ध बाहिरबाट अभिव्यक्ति दिनुभन्दा पार्टीका कमिटीमा छलफल गर्न नेताहरूलाई आग्रह गर्नुभयो। पार्टीलाई अनुशासित, एकताबद्ध र गतिशील बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष ओलीले भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा एमालेले आफ्नो तर्फबाट प्रभावकारी भूमिका खेलेको दाबी गर्दै सरकारको विपद् व्यवस्थापनप्रति प्रश्न उठाएका छन्। उनले बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताए।
केन्द्रीय कमिटी बैठकले निर्वाचनमा पार्टीले बेहोरेको परिणाम, संगठनात्मक कमजोरी तथा आगामी राजनीतिक दिशाबारे समीक्षा गर्ने बताइएको छ। पछिल्लो समय एमालेभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको विषयमा बहस चलिरहेको छ।

























