
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेताहरूको जिम्मेवारी बाँडफाँटसहित संगठनात्मक विषय टुंग्याउने तयारी गरेको छ । यसका लागि पार्टी सचिवालयको बैठक बिहीबार बिहान १० बजे केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।
केन्द्रीय कमिटीको तेस्रो बैठक चलिरहेका बेला सचिवालय बैठक बोलाइएको हो । सचिवालयले कार्यविभाजनसम्बन्धी प्रस्ताव पारित गरेपछि त्यसलाई केन्द्रीय कमिटीमा पेस गर्ने तयारी छ ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने प्रस्तावमाथि निर्णय हुनेछ । त्यसपछि दिउँसो साढे १२ बजेबाट केन्द्रीय कमिटीको बैठक पुनः बस्नेछ ।
एमालेको ११औँ महाधिवेशन सम्पन्न भएको लामो समय भए पनि केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन हुन सकेको थिएन । सचिवालय बैठकले स्थायी कमिटी र पोलिट्ब्यूरो सदस्यको जिम्मेवारीसमेत टुंग्याउने तयारी गरेको छ ।
यस्तै, पार्टीका विभिन्न विभागलाई पूर्णता दिने तथा भौगोलिक र गैरभौगोलिक कमिटीमा सहइञ्चार्ज तोक्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ । निर्वाचन समीक्षाका क्रममा आएका सुझावका आधारमा केही पार्टी कमिटी र जनसंगठनसँग सम्बन्धित विषयमा समेत सचिवालयमा छलफल हुने बताइएको छ ।

























