
विराटनगर । कोशी प्रदेशमा सम्भावित विपद् व्यवस्थापन, सूचना संकलन, विश्लेषण र प्रभावकारी समन्वयका लागि ‘मनसुन प्रतिकार्य कमान्ड पोस्ट’ सक्रिय गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख निर्मल भट्टराईको अध्यक्षतामा बसेको कमान्ड पोस्टको बैठकले असोज ९ देखि १२ गतेसम्म हुनसक्ने सम्भावित भारी वर्षा र विपद्का घटनालाई मध्यनजर गर्दै सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठकले प्रदेशका विभिन्न निकायबाट विपद्सम्बन्धी सूचना नियमित संकलन, विश्लेषण तथा आदानप्रदान गरी सम्बन्धित निकायलाई आवश्यक रिपोर्टिङ गर्ने निर्णय गरेको छ । यसैगरी, जिल्ला र पालिका तहमा पनि विपद् सूचना संकलन र समन्वयका लागि कमान्ड पोस्ट निर्माण तथा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
कमान्ड पोस्टलाई पूर्ण रूपमा सक्रिय राख्दै प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई नियमित जानकारी गराउने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीका प्रमुख सेनानी रविन थापा, राष्ट्रिय अनुसन्धान मोरङका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईं, कोशी प्रदेश प्रहरी कार्यालयका डीएसपी प्रकाश जबेगु, सशस्त्र प्रहरी बल बराह बाहिनीका डीएसपी वीरेन्द्र खनाल र मन्त्रालयका शाखा अधिकृत सदानन्द भट्टराईको उपस्थिति रहेको थियो ।

























