पाँच प्रदेशमा राति भारीदेखि अति भारी वर्षाको सम्भावना

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १९:५५

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको न्यून चापीय प्रणाली उत्तर–उत्तर पश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा कमजोर हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार शुक्रबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

Advertisement

यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

मधेस प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई अति भारी वर्षा मानिन्छ। यस्तै, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भएमा त्यसलाई ‘अधिकांश स्थानमा वर्षा’ भनिन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×