
विराटनगर। निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ । आज (शुक्रबार) साँझ ७ः१५ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव २ लाख ७८ हजार २७५ क्युसेक पुगेको छ ।
बहाव बढेसँगै पानीलाई निकास दिन कोशी ब्यारेजका ३७ वटा ढोका खोलिएका छन् । पछिल्लो विवरणमा ब्यारेजको अवस्था ‘डेन्जर’ अर्थात् खतराको सूचीमा राखिएको छ ।
शुक्रबार बिहान ९ः१५ बजे कोशी ब्यारेजमा १ लाख ९० हजार ६८० क्युसेक बहाव मापन भएको थियो । दिउँसो १ः१५ बजे बहाव बढेर २ लाख २९ हजार ९६० क्युसेक पुगेको थियो । साँझसम्म आइपुग्दा बहाव थप बढेको हो ।
पूर्वी पहाडी तथा तराईका जिल्लामा निरन्तर वर्षा भइरहेकाले सप्तकोशीको जलस्तर अझै बढ्न सक्ने जोखिम रहेको छ । कोशी ब्यारेजमा बहाव बढेसँगै यसअघि नै रातो बत्ती बालिएको र रातो झन्डासमेत फहराइएको थियो ।
जल तथा मौसम विज्ञान विभागले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्ला मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले नदी आसपासका बासिन्दालाई थप सावधानी अपनाउन भनिएको छ ।
नदीको बहाव निरन्तर बढिरहेको अवस्थामा कोशी ब्यारेज र आसपासका क्षेत्रमा जलस्तरको निगरानी बढाइएको छ । तटीय तथा होचा भूभागमा बसोबास गर्ने स्थानीयलाई नदीको अवस्था हेरेर सतर्क रहन आग्रह गरिएको छ ।

























