
विराटनगर । पहाडी जिल्लाहरूमा भइरहेको निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेर खतराको तह (एक्स्ट्रीम डेन्जर) मा पुगेको छ । शनिबार (आज) बिहान ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ ।
पानीको बहाव खतराको तह नाघेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये ४३ वटा ढोका खोलिएका छन् । साथै, सर्वसाधारणलाई सतर्क गराउन ब्यारेजका पूर्व, पश्चिम र मध्य भागमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ ।
सामान्यतया कोशीमा १ लाख ५० हजार क्युसेक कटेपछि पश्चिमतर्फ, २ लाख कटेपछि पूर्वतर्फ र ३ लाख क्युसेक नाघेमा मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिन्छ ।
यद्यपि कोशी ब्यारेजको निर्माण समयमा यसको भारवहन क्षमता ९ लाख ५० हजार क्युसेक मानिए पनि माथिल्लो भागमा लेदो र बालुवा थुप्रिएका कारण कम बहावमै पनि उच्च जोखिम सिर्जना हुने गरेको छ । यसअघि २०६५ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानी हुँदै पूर्वी तटबन्ध भत्किँदा कोशी गाउँपालिकाका चारवटा मानव बस्ती डुबानमा परेका थिए ।
सप्तकोशीको पश्चिम भँगालोले धार परिवर्तन गर्दै सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ मा पर्ने श्रीलंका टापुमा कटान तीव्र पारेको छ । पानीको बहाव बढेसँगै त्यहाँका बासिन्दा त्राहिमाम बनेका छन् ।
स्थानीयका अनुसार कोशीको पश्चिम धारबाट पानी ओभरफ्लो भएर बस्तीतर्फ सोझिन थालेको छ । यस्तै, उदयपुरको बेलका नगरपालिका–८ स्थित भाटेपुलतर्फ पनि नदीले कटान बढाएकाले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्नुपर्ने जोखिम बढेको छ ।
यसअघि २०७९ साउन अन्तिम साता कोशीले बेलकाको डुम्रीबोटबाट धार परिवर्तन गरी बस्तीमा पस्दा बराहक्षेत्र र बेलकाका सयौँ परिवार विस्थापित भएका थिए । पूर्व र पश्चिम दुवैतर्फ कोशी नदीले घेरिएको श्रीलंका टापु भौगोलिक रूपमा अत्यन्तै संवेदनशील मानिन्छ ।
कोशीमा पानीको सतह लगातार बढेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको टोलीले शुक्रबार साँझ ब्यारेज क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन र उद्धारका लागि तयारी अवस्थामा रहन प्रहरी–प्रशासनलाई निर्देशन दिएका छन् ।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएकाले तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

























