
काठमाडौं । निरन्तरको वर्षा, पहिरो र खोलामा बढेको पानीको बहावका कारण देशभरका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागले आज (शनिबार) बिहान ९:३० बजे जारी गरेको पछिल्लो विवरणअनुसार दर्जनभन्दा बढी मुख्य सडकखण्डमा यातायात अवरुद्ध भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङलगायतका स्थानमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। निरन्तरको वर्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। सडक विभागले भने विभिन्न स्थानमा पहिरो पन्छाउने काम सुरु गरेको जनाएको छ।
बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा पनि सडक अवरुद्ध छ। पहिरो खस्नुका साथै कतिपय स्थानमा डाइभर्सनसमेत बगाएकाले राजमार्ग सञ्चालनमा ल्याउन प्रयास भइरहेको विभागले जनाएको छ।
कर्णाली राजमार्गअन्तर्गत गगने खोला तथा नाग्म–जुम्लाको राँका क्षेत्रलगायत विभिन्न स्थानमा साना–ठूला पहिरो र ढुंगा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ। सडक खुलाउन लोडरसहितका टोली परिचालन गरिएको छ।
सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सल्लेरी खण्डमा सोलु खोला नजिक सडक भासिएपछि यातायात ठप्प छ। थप वर्षा नभए आज बेलुकीसम्म मेसिन प्रयोग गरी ‘ब्याक कटिङ’ गरेर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ।
कान्ति राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ। मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सुचारु गरिए पनि ललितपुरको चपली र तकुर्चेलगायतका स्थानमा काम जारी छ। ती स्थानमा काम सकिएपछि शनिबार बिहान १० बजेपछि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अनुमान गरिएको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो खस्ने क्रम जारी छ। कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा ठूलो पहिरो गएको छ। दुवै स्थानमा पहिरो हटाउन मेसिन तयारी अवस्थामा राखिएको छ। तमोर करिडोरअन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको छ। पानीको बहाव घटेपछि सडक खुलाउने तयारी गरिएको छ।
राप्ती राजमार्गको कपुरकोट र बागलुङ–बेनी सडकको हुलाके क्षेत्रमा खसेको पहिरो पन्छाउन मेसिन परिचालन गरिएको छ। भालुवाङ–चकचके–लिवाङ सडकमा पनि पहिरो हटाउने काम भइरहेको छ। सो सडकमा साना सवारीसाधन भने सावधानीपूर्वक सञ्चालन भइरहेका छन्।
सडक विभागले विपद्को समयमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ। सडक अवरोधसम्बन्धी थप तथा अद्यावधिक विवरण विभागको आधिकारिक वेबसाइटबाट हेर्न सकिने विभागले जनाएको छ।

























