
रंगेली । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन बजारनजिक निर्माण भइरहेको केरौन १३२/३३ केभी सबस्टेशन आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाका अधिकांश संरचनागत तथा प्राविधिक काम सम्पन्न भइसकेकाले असोजभित्रै सबस्टेशनबाट विद्युत् आपूर्ति सुरु गर्ने तयारी भइरहेको हो । आयोजनाका इन्जिनियर राजेश साहका अनुसार सबस्टेशनभित्र वायरिङ, ट्रान्सफर्मर जडानलगायतका प्राविधिक काम सम्पन्न भइसकेका छन् । पोल विस्तारको काम पनि पूरा भइसकेको छ । अब सबस्टेशन सञ्चालनका लागि आवश्यक परीक्षण तथा चार्जिङको काम अघि बढाइएको उनले बताए ।
साहका अनुसार असोज १७ गते हाईटेन्सन लाइनबाट विद्युत् सटडाउन लिएर ट्रान्सफर्मर चार्ज गर्ने तयारी भइरहेको छ । ट्रान्सफर्मर चार्ज गर्न करिब २४ घण्टा समय लाग्ने भएकाले मोरङ र झापाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने साहले बताए । शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म दुई दिन विद्युत् आपूर्ति बन्द गरी काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट अनुमति लिएर मात्रै सटडाउन गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।

नेपाल सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजना पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो, स्थिर र गुणस्तरीय बनाउने उद्देश्यले अघि बढाइएको हो । सबस्टेशन निर्माणका लागि नेपाल सरकारले करिब पाँच बिघा जग्गा खरिद गरी उपलब्ध गराएको थियो ।
२०७८ साउन २७ गतेबाट निर्माण सुरु भएको आयोजनाको प्रारम्भिक ठेक्का अवधि २०८० कात्तिक २५ गतेसम्म थियो । निर्धारित अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले म्याद थप गरी २०८१ कात्तिक २५ गतेसम्म पुर्याएको थियो ।
आयोजना निर्माण सम्पन्न भएपछि विराटनगरतर्फबाट पूर्वी क्षेत्रमा जाने विद्युत् लाइनमा देखिँदै आएको कम भोल्टेजको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ । हाल लामो दूरीबाट विद्युत् आपूर्ति गर्नुपर्ने अवस्थाका कारण कतिपय क्षेत्रमा भोल्टेज घट्ने समस्या देखिँदै आएको छ । यसको प्रत्यक्ष असर घरेलु उपभोक्तासँगै उद्योग, व्यापार तथा कृषि क्षेत्रमा समेत पर्ने गरेको छ ।
केरौन सबस्टेशन सञ्चालनमा आएपछि स्थानीय स्तरमा विद्युत् आपूर्तिको दूरी घट्नुका साथै वितरण प्रणालीको क्षमता र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ । नयाँ सबस्टेशनले बढ्दो विद्युत् माग व्यवस्थापन गर्न समेत सहयोग पुग्ने आयोजनाको भनाइ छ ।
विशेषगरी बढ्दो जनसंख्या, सहरीकरण, कृषि विद्युतीकरण, साना तथा ठूला उद्योग र व्यापारिक गतिविधिका कारण विद्युत्को माग निरन्तर बढिरहेको छ । नयाँ सबस्टेशन सञ्चालनमा आएपछि मागअनुसार विद्युत् वितरण गर्न सहज हुने र आपूर्ति प्रणाली थप मजबुत बन्ने साहले बताए ।
केरौन सबस्टेशन सञ्चालनमा आएपछि रंगेली वितरण केन्द्रअन्तर्गतका रंगेली, सुनवर्षी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, रमाइलोलगायतका स्थानका विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने आयोजनाले जनाएको छ । यी स्थानमा विद्युत् आपूर्तिको गुणस्तर सुधार हुनुका साथै नियमित र भरपर्दो विद्युत् वितरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



















