
काठमाडौं । बाढीपहिरोका कारण नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । महाधिवेशन निर्धारित मितिभन्दा केही दिनपछि धकेलिने भएको हो ।
असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको महाधिवेशन बाढीपहिरोका कारण उत्पन्न यातायात अवरोध र महाधिवेशन प्रतिनिधिहरूको आवागमनमा देखिएको समस्याका कारण सार्ने तयारी गरिएको नेताहरुले बताएका छन् । कांग्रेसका एक शीर्ष पदाधिकारीका अनुसार महाधिवेशन पाँचदेखि छ दिनभन्दा बढी नलम्बिने गरी नयाँ मिति तय गर्ने विषयमा छलफल भइरहेको छ । उनका अनुसार देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनुका साथै कतिपय ठाउँमा घर तथा भौतिक संरचनामा क्षति पुगेकाले प्रतिनिधिहरूलाई काठमाडौं आउन कठिन भएको छ ।
कांग्रेसभित्र महाधिवेशन असोज १९ गतेबाटै सुरु गर्ने कि २१ गतेबाट गर्ने भन्ने विषयमा नेताहरूबीच छलफल भइरहेको छ । प्राकृतिक विपत्तिका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि केही दिन मिति सार्ने तयारी संस्थापन पक्षले गरेको हो ।
तर, महाधिवेशनको मिति र प्रक्रियालाई लिएर कांग्रेसभित्रको विवाद भने कायमै छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले असोजमा नभई आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी अघि बढाएको छ ।
यता संस्थापन पक्षले भने देशभर वडा र क्षेत्रीय अधिवेशन गरिरहेको छ । देउवा पक्षले पनि आफ्नो तयारीअनुसार असोज १५ गते वडा अधिवेशन गर्ने जनाएको छ । यसले महाधिवेशनको मिति र अधिवेशन प्रक्रियालाई लिएर कांग्रेसभित्र देखिएको दुई धारबीचको मतभेद थप स्पष्ट भएको छ ।

























