अविरल वर्षाले निम्त्याएको विपद् : २७ जनाको मृत्यु, ४ जना अझै बेपत्ता

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार १४:०१

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका घटनामा परेर २७ जनाको मृत्यु भएको छ । असोज ९ देखि १२ गतेसम्म परेको वर्षापछि देशभर ५४२ वटा विपद्का घटना दर्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको पछिल्लो विवरणअनुसार विपद्मा परी चार जना अझै बेपत्ता छन् भने आठ जना घाइते भएका छन् । वर्षाजन्य विपद्बाट देशभर एक हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

Advertisement

विपद्का घटनामध्ये पहिरो सबैभन्दा बढी जनधनको क्षति गराउने कारण बनेको छ । देशभर ३०४ वटा पहिरोका घटना दर्ता भएका छन् । ती घटनामा २० जनाको मृत्यु, चार जना बेपत्ता र सात जना घाइते भएका छन् ।

त्यस्तै, ८७ वटा बाढीका घटनामा चार जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण भएका १५१ घटनामा थप तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

यसैबीच, क्याम्प खडा गर्ने उद्देश्यले हिमलुङ हिमालतर्फ गएको २२ जना नेपालीको टोलीमध्ये चार जनाको शव फेला परेको छ । टोलीका अन्य सदस्यको खोजी भइरहेको छ । हेलिकप्टरमार्फत हवाई खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

वर्षा र त्यसपछिको बाढी तथा पहिरोले घर, पुल र सडकसहितका भौतिक संरचनामा पनि उल्लेख्य क्षति पुगेको छ । प्राधिकरणका अनुसार २२७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ वटा घरमा आंशिक क्षति पुगेको छ ।

बाढीका कारण देशभरका १० वटा पुलमा क्षति पुगेको छ । बागलुङमा कालीगण्डकी नदीले पुल बगाएपछि यातायात सम्पर्क विच्छेद हुनुका साथै विद्युत् र टेलिफोन सेवा प्रभावित भएको छ । म्याग्दीमा करिब ४०० मिटर सडक कटानमा परेको छ भने विभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् ।

विपद्को असर कृषि तथा पशुपालन क्षेत्रमा पनि परेको छ । देशभर ३१ वटा गोठ भत्किएका छन् भने ११४ वटा पशुचौपाया मरेका छन् ।

प्राधिकरणका अनुसार जोखिमयुक्त क्षेत्रबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार तथा खोजी कार्यमा जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलका चार हजार ३९५ तथा नेपाली सेनाका २६५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

म्याग्दी, जाजरकोट, हुम्ला, मुगु र दैलेखलगायतका दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेका र गम्भीर घाइते भएका व्यक्तिलाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

विपद् आउनुअघि जोखिम न्यूनीकरणका लागि पनि सूचना प्रवाह गरिएको थियो । प्राधिकरणले जोखिम सम्भावित क्षेत्रका नागरिकलाई लक्षित गरी करिब नौ लाख ८० हजार एसएमएस पठाएको जनाएको छ । यस्तै, पर्यटकलाई लक्षित गरी अंग्रेजी भाषाका करिब नौ हजार सूचना प्रवाह गरिएको थियो ।

तपाइको प्रतिक्रिया
नवीकरणदेखि औषधि भण्डारणसम्म कैफियत, विराटनगरका तीन फार्मेसीमा सिल
कोशी अस्पतालको विकास समितिले पायो पूर्णता
धरानमा शिक्षक नियुक्तिको आश्वासनपछि विद्यार्थीको अनशन अन्त्य
चोलेन्द्र प्रकरण : जेनजीको नाम जोड्दा विवादमा आएपछि फेरियो सरकारको बोली
 
पूर्वप्रधान न्यायाधीशको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति
मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
ओलीको निर्देशन : चुनावमा केन्द्रित भएर संगठन सुदृढ गर्नू
बोर्डको मान्यता विवादकै आधारमा विद्यार्थीलाई नक्कली प्रमाणपत्रधारी भन्न नमिल्ने सर्वोच्चको फैसला
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक नौ अंकले घट्यो
बदलिँदो जीवनशैलीले युवाको मुटु जोखिममा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×