
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केश्वर–पथलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना, बलेफीखोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्ले पशु, बधशाला र मासु जाँच ऐन–२०५५, संघीय निजामती सेवासम्बन्धी कानुन तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ संशोधन गर्न बनेका विधेयक संघीय संसद्मा पेश गर्न पनि स्वीकृति दिएको छ।
यस्तै, नेपाल प्रशासन सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आवास श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।
त्यसैगरी, नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्मचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

























