
काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहँदा अहिलेसम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ । प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोजीका क्रममा शव फेला परेका हुन् ।
प्रहरीका अनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३ सय ६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासीमा २ सय २२ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान र व्यवस्थापनको कामसमेत सँगसँगै अघि बढाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार शव पहिचानका लागि डीएनए नमूना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरेर हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म सात हजार ९ सय ७५ प्रहरी कर्मचारीलाई प्रभावित क्षेत्रमा खटाइएको छ ।
तर, बाढीमा बेपत्ता भएका सबैको अवस्था अझै यकिन हुन सकेको छैन । प्रहरीका अनुसार ४ हजार ७ सय १८ जना अझै बेपत्ता छन् । उनीहरूको खोजीका लागि प्रभावित क्षेत्र तथा सम्भावित स्थानमा निरन्तर अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

























