
धादिङ । पहिरोका कारण प्रभावित पृथ्वीराजमार्ग आज बुधबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अन्य अवरोध नआएमा आज अपराह्न १ बजेदेखि पृथ्वीराजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिनेछ।
विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि राजमार्गमा हाल एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ। सडकमा रहेको अवरोध हटाउने तथा भासिएको स्थान मर्मत गर्ने काम भइरहेको प्रशासनले जनाएको छ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। सवारी चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।
आवश्यक सहयोगका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

























