
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीको महाधिवेशन प्रक्रियामा तटस्थ बसे पनि उनीनिकट नेता–कार्यकर्ता भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी हुने भएका छन् ।
कोइराला स्वयं कुनै पक्षको अधिवेशनमा सहभागी नहुने निर्णयमा रहे पनि उनीनिकट नेता–कार्यकर्ताले भने आफ्नो निर्णयअनुसार देउवा पक्षको अधिवेशनमा जाने भएका हुन् । कोइरालानिकट नेता–कार्यकर्ताले यसअघि पनि आफ्नो स्वविवेकअनुसार विभिन्न अधिवेशनमा सहभागिता जनाउँदै आएका थिए।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बिहीबारदेखि सुरु हुने देउवा पक्षको वडा अधिवेशनमा आफ्नो समूहका नेता–कार्यकर्ता सहभागी हुने पुष्टि गरे । ‘केहीले स्वविवेक प्रयोग गरेर अस्तीको महाधिवेशनमा भाग लिनुभयो । अब केहीले स्वविवेक प्रयोग गरेर भोलिबाट सुरु हुने महाधिवेशनमा भाग लिनुहुन्छ,’ उनले भने ।
देउवा पक्षले १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका अघि बढाएको छ । सोहीअनुसार बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ । देउवा पक्षले यसअघि मंसिरमा छुट्टै महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। देउवा पक्षले गठन गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।
डा. शेखर कोइरालाले भने दुवै पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नभई तटस्थ रहने धारणा राख्दै आएका छन् । उनीनिकट नेताहरूको सहभागिताबारे भने एउटै निर्णय नभई नेता–कार्यकर्ताले आ–आफ्नो निर्णयअनुसार अघि बढ्ने अवस्था देखिएको छ।

























