
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको बताएका छन्। आज (बुधबार) प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसलाई व्यवस्थित र नियमन गर्न आवश्यक कानुनी व्यवस्था गर्न लागिएको बताए ।
उनका अनुसार गलत तथा भ्रामक सूचना नियन्त्रणका लागि आमसञ्चार विधेयक र प्रेस काउन्सिलसम्बन्धी विधेयक तर्जुमा भइरहेको छ। ती विधेयक छिट्टै संसद्मा प्रस्तुत गर्ने तयारी रहेको उनले जानकारी दिए। मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिल नेपाललाई थप अधिकार र जिम्मेवारीसहित बलियो बनाउने गरी विधेयक तयार भइरहेको पनि बताए। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितालाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन काउन्सिललाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो ।
साइबर ठगी तथा अनलाइन बेटिङ नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको भन्दै उनले हालसम्म तीन लाख पाँच हजारभन्दा बढी युनिक बेटिङ साइट तथा नयाँ बेटिङ एप पहिचान गरी बन्द गरिएको जानकारी दिए। फेक अकाउन्ट बनाएर चरित्र हत्या गर्ने, झुटा सूचना फैलाउने तथा भ्रम सिर्जना गर्ने गतिविधिलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर रहेको उनले बताए। व्यक्तिगत गोपनीयता उल्लंघन हुने गरी अनधिकृत रूपमा भिडियो तथा तस्बिर सार्वजनिक गर्ने कार्यमा समेत दोषीलाई कानुनी कारबाही गरिने उनले स्पष्ट पारे ।
बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन विभिन्न देशले अपनाएका उमेरगत प्रतिबन्ध तथा नियामकीय अभ्यासको अध्ययन गरी नेपालको सन्दर्भमा आवश्यक नीति तथा व्यवस्था अघि बढाउने तयारी भइरहेको पनि मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

























