
काठमाडौं । भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित बनेको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको व्यवसायीले बताएका छन्। एक महिनाअघिको तुलनामा अहिले होटल बुकिङ, इन्क्वायरी र पर्यटक आगमन बढ्न थालेको उनीहरूको भनाइ छ।
तर कैलाश–मानसरोवर यात्रा भने बाढीपछि प्रभावित भएको छ। केरुङको स्थलमार्ग अवरुद्ध भएपछि हिल्सा हुँदै मानसरोवर लैजान खोज्दा चीनले भारतीय तीर्थयात्रीलाई प्रवेश नदिएपछि समस्या थपिएको व्यवसायी बताउँछन्। मानसरोवर जानेमध्ये करिब ९५ प्रतिशत भारतीय रहेको र बाढीपछि करिब ४ हजार बुकिङ रद्द भएको उनीहरूको दाबी छ।
होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार बाढी लगत्तैको तुलनामा अहिले काठमाडौं, चितवन र पोखरालगायतका पर्यटकीय क्षेत्रमा इन्क्वायरी र होटल अकुपेन्सी बढेको छ। उनका अनुसार काठमाडौंका स्टार होटलमा अकुपेन्सी अहिले औसत ६० प्रतिशत हाराहारी पुगेको छ।
शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित उडान सुरु गर्नु पर्यटनका लागि सकारात्मक भएको बताए। पर्यटक आगमन बढाउन नेपाल सुरक्षित रहेको सन्देश भारत, चीनलगायतका प्रमुख बजारमा प्रभावकारी रूपमा पुर्याउनुपर्ने उनको भनाइ छ।
उनका अनुसार नेपालमा वार्षिक करिब १२ लाख पर्यटक आउने गरे पनि होटलको क्षमता ३५ लाखभन्दा बढी पुगिसकेको छ। त्यसैले आगामी अक्टोबर र नोभेम्बरको मुख्य पर्यटकीय सिजनमा पर्यटक आगमन बढाउन सरकार, पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स र निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्ने उनले बताए।



















