
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । असोज १८ गते आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनमा ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् भने ५० हजारभन्दा बढी युवाको सहभागिता रहने पार्टीले जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले शनिबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको जानकारी दिएका हुन् । ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ नारासहित आयोजना हुने महाधिवेशनको उद्घाटन ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चमा हुनेछ । २००२ साल पुस २८ देखि माघ ३ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनपछि कांग्रेसले सोही ऐतिहासिक स्थलमा महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनलाई संगठनात्मक पुनर्संरचना र नयाँ नेतृत्व चयनको अवसरका रूपमा हेरिएको छ । यसपटक ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक, विभिन्न पेसागत समूह तथा प्रवासमा रहेका नेपालीलाई समेत केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिने व्यवस्था गरिएको प्रवक्ता चालिसेले बताए ।
महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भइसकेको छ । प्रतिनिधिले दर्ता शुल्कबापत ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्नेछ ।
प्रतिनिधिको आवास व्यवस्थापनका लागि निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशगत रूपमा संयोजक तोकिएको छ । आवाससम्बन्धी विवरण ह्वाट्सएप, एआई नम्बर तथा एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ । बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिहरूलाई समूहमा विभाजन गरी तीनवटा अलगअलग हलमा छलफल गराइनेछ । छलफलका लागि डिजिटल बोर्डको समेत प्रयोग गरिनेछ ।
यसैबीच, निर्वाचन समितिले असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय तोकेको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा शुभेच्छुकका सवारी साधन पार्किङका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुरानो बसपार्क क्षेत्र तोकिएको छ । ठूला बसका लागि भने माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेन प्रयोग गरिने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनको गतिविधिका बारेमा सञ्चारमाध्यमलाई नियमित जानकारी दिन मिडिया सेन्टरबाट दैनिक ब्रिफिङ गरिने प्रवक्ता चालिसेले बताए । सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजकसमेत रहेका चालिसेका अनुसार महाधिवेशनका गतिविधि निरन्तर अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।
कांग्रेसको यो महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार र नयाँ पुस्ताको प्रतिनिधित्वसमेत चासोका विषय बनेका छन् । महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने बताइएको छ ।
सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने कांग्रेसले जनाएको छ । चालिसेले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाबाट महाधिवेशन उद्घाटन गराउने प्रयास गरेको बताए । यद्यपि, महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहेको बताउँदै उनले देउवा नआए थापाले महाधिवेशन उद्घाटन गर्ने जानकारी दिए ।



























