
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आइतबार झापाको भद्रपुर नगरपालिका–५ बाट इलाम नगरपालिका–१० का सरोज बनिया पक्राउ परेका छन् । प्र १–०२–०४३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार बनियाको साथबाट ५ ग्राम ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का विशाल बस्नेत ३०० मिलिग्राम ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–९ का नरेश खड्गी र कृष्ण राई ४ ग्राम ४६० मिलिग्राम तथा केराबारी गाउँपालिका–६ का शुसान्त विक र निर्मल तामाङ ४ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
मोरङको रंगेली नगरपालिका–५ का कृष्णकुमार पासवानलाई ९ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ का अरुण मण्डल र विवेक धिमाल १ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
धरान–८ का बिमलराज धामीलाई २ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । धनकुटाको चौबिसे गाउँपालिका–६ का उपहार राई र शशिहाङ राई तथा साँगुरीगढी गाउँपालिका–५ का सलुन राई २०० चक्की प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् ।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–११ का महेन्द्र कार्कीलाई ८८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

























