विश्व शिक्षक दिवसमा रंगेलीमा वक्तृत्वकला प्रतियोगिता

Share this
708shares
मुलुकी खबर
रविन्द्र बराल
clock२०८३ आश्विन १९, सोमबार १९:२८
विश्व शिक्षक दिवसमा रंगेलीमा वक्तृत्वकला प्रतियोगिता

रंगेली । विश्व शिक्षक दिवसको अवसर पारेर मोरङको रंगेलीमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।  ‘शिक्षक सम्मानित भए, शिक्षा बलियो हुन्छ, शिक्षा बलियो भए, राष्ट्र समृद्ध हुन्छ’ भन्ने मूल नाराका साथ चाँदनी फाउन्डेसनले प्रतियोगिता आयोजना गरेको हो ।

रंगेली नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी १५ विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए । विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने, सार्वजनिक रूपमा आफ्ना विचार राख्ने क्षमता अभिवृद्धि गर्ने तथा आत्मविश्वास र नेतृत्व सीप विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष प्रमेश्वरप्रसाद साहले जानकारी दिए ।

प्रतियोगितामा सहभागी विद्यार्थीले शिक्षकको भूमिका, शिक्षाको महत्त्व, राष्ट्र निर्माणमा शिक्षाको योगदान, विद्यार्थीको जिम्मेवारी तथा अनुशासनलगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले तर्कपूर्ण र प्रभावकारी ढंगले विचार राख्दै वक्तृत्वकला प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुलकी श्रेया कार्की प्रथम भइन् । मिनिल्याण्ड बोर्डिङ स्कुलकी साञ्ची निरौला द्वितीय, पब्लिक उच्च माध्यमिक विद्यालयका भास्कर साह तृतीय तथा माउन्ट मकालु बोर्डिङ स्कुलकी जानवी मण्डल सान्त्वना घोषित भए ।

विजेता विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।

कार्यक्रमका सभापति तथा फाउन्डेसनका अध्यक्ष साहले विद्यालय तहबाटै विद्यार्थीको प्रतिभा पहिचान गरी त्यसको विकासका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिनुपर्ने बताए । वक्तृत्वकला, वादविवाद, कविता तथा अन्य सिर्जनात्मक गतिविधिले विद्यार्थीलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्न सिकाउनुका साथै आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक संघ, रंगेलीका अध्यक्ष लक्ष्मी मेहताले शिक्षक र शिक्षाको सम्मान समाजको विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । विद्यार्थीको प्रतिभा विकासका लागि विद्यालय, शिक्षक, अभिभावक र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।

विश्व शिक्षक दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै शिक्षकप्रतिको सम्मान, शिक्षाको महत्त्व र राष्ट्र निर्माणमा विद्यार्थीको भूमिकाबारे संवाद गर्ने महत्त्वपूर्ण मञ्चसमेत प्रदान गरेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×