
संखुवासभा । संखुवासभाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण आयोजनामार्फत केन्द्रीय प्रसारण लाइन जोडिएको छ ।
लामो समयदेखि पोल र तार जडान भए पनि विद्युत् आपूर्ति हुन सकेको थिएन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज चापागाईंले केन्द्रीय तहमा गरिएको समन्वय र निरन्तरको पहलपछि राष्ट्रिय प्रसारण लाइन सुचारु भएको जानकारी दिए ।
पहिलो चरणमा गाउँपालिकाको केन्द्र हटियासम्म बिजुली पुगेको छ भने केही दिनभित्रै वडा नं ३ को हुङ्गुङ गाउँसम्म लाइन विस्तार हुनेछ । सदरमुकाम खाँदबारीबाट हटिया पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्ने र पालिकाका पाँचै वडा समेट्न २६ दिन लाग्ने विषम भौगोलिक बनावट रहेको छ ।
भरपर्दो विद्युत् सेवाले अब सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र स्थानीयको दैनिकी सहज हुने अपेक्षा गरिएको छ । चीन र भारत जोड्ने कोशी करिडोर यही गाउँपालिका भएर निर्माण भइरहेको छ । २ हजार ४०० मिटर उचाइमा रहेको किमाथाङ्का नाका बाह्रै महिना सञ्चालनमा ल्याउन सकिने भएकाले यहाँ भन्सार, सीमा प्रशासन र अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने स्थानीयको माग छ ।
साथै, विद्युत् पुगेसँगै नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ । सूचना तथा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसलाई प्राथमिकतामा राखेमा सडक, बिजुली र सञ्चारको उपलब्धताले त्रिदेशीय व्यापार र समग्र क्षेत्रको समृद्धिमा नयाँ आयाम थपिने स्थानीयको विश्वास छ ।

























