
काठमाडौं । नेपालका लागि भारतीय नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई पठाउने तयारी भारतले गरेको छ । भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिवका रूपमा कार्यरत दलेलालाई नेपालका लागि राजदूत बनाउन भारतले प्रस्ताव अघि बढाएको हो ।
हाल नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरेपछि स्वदेश फर्कने तयारी गरेसँगै नयाँ राजदूतका रूपमा दलेलाको नाम अघि आएको हो । भारतीय विदेश सेवामा लामो अनुभव भएका दलेला सन् १९९३ मा सेवामा प्रवेश गरेका थिए । कूटनीतिक सेवाका क्रममा उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, जेनेभा र भुटानमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
दलेला सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतका राजदूतसमेत रहेका थिए । दक्षिण एसियाली मुलुकसँगको कूटनीतिक सम्बन्धमा अनुभव हासिल गरेका दलेलाको नेपाल आगमनलाई भारतको छिमेक केन्द्रित कूटनीतिसँग जोडेर हेरिएको छ ।
भारतको विदेश मन्त्रालयले दलेलालाई नेपालका लागि राजदूत बनाउने प्रस्तावका बारेमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई समेत जानकारी गराएको बताइएको छ ।



















